‘राजस्व अभिबृद्धिका लागि अवैद्य व्यापार नियन्त्रण’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिती सदस्यहरु र मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । संघले आयोजना गरेको भेटघाट कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार अग्रवालले हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गरे । त्यस्तै उनले औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिए ।

अध्यक्ष अग्रवालले वीरगंज उद्योग वाणिज्य संघ सदैव वैद्य व्यापारको प्रवद्र्धन र अवैद्य व्यापार निरुतसाहीत हुनुपर्ने संस्थागत मान्यता राख्दै आईरहेको बताए । उनले पछिल्लो समयमा अन्तरसरकारी निकायहरुबीच समन्वयको अभावका कारण नीति क्षेत्रले समस्या बेहोर्नु परिरहेको धारणा राख्दै सशस्त्र प्रहरी र अन्य नियामक निकायबीच आपसी सहकार्य र समन्वय हुनु पर्नेमा जोड दिए ।

भेटघाट कार्यक्रममा प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले आफुले कार्यभार सम्हालेको एक साता मात्र भएको बताउँदै सीमा क्षेत्रलाई व्यवस्थित र अवैद्य व्यापार नियन्त्रणमा सशस्त्र प्रहरीको भुमिका आफै प्रभावकारी बनाउने तर्फ आफ्नो पहल हुने बिचार राखेका थिए । उनले धेरैजसो बिषयहरु नीतिगत रुपमा परिमार्जन र संशोधन गर्नु पर्ने आवश्यकता रहेको भएता पनि दैनिक कार्य सम्पादनलाई नागरिक मैत्री बनाउन सशस्त्र प्रहरीले आफ्नो भुमिका खर्चिने कुरामा जोड दिएका थिए ।

प्रहरी नायब महानिरीक्षक धौवजीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने, राजश्व अभिबृद्धिका लागि अवैद्य व्यापार नियन्त्रण गर्ने लगायतका बिषयहरु हाम्रो प्राथमिकतामा रहेको कुरा बताउँदै वीरगंज उद्योग वाणिज्य संघसँग निरन्तर सम्वाद र छलफल गरिरहने बताए ।

संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रममा संघका उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रुँगटा लगायत संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button