स्थिरता र मधेशको विकासका लागि एमाले आवश्यकः पोखरेल

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–माओवादी गठबन्धन सरकारले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । बाराको कलैयामा सोमबार आयोजित नेकपा एमाले बाराको ११ औँ जिल्ला अधिवेशन उद्घाटनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमाले पहिलादेखि नै आफ्नो देशको भूमि अतिक्रमण हुन नदिने कुरामा स्पष्ट रहेको बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक भारतमाथि मात्र निर्भर हुँदा समस्यामा पर्नसक्ने भन्दै चीनसँगको सिमाना जोडिएका नाका निर्बाध सञ्चालनका लागि सरकार लाग्नु पर्नेमा जोड दिए । उनले अहिलेको राजनीतिक समीकरणले मिसन ८४ सफल बनाउन सहयोग गर्ने स्पष्ट पार्दै कांग्रेस र माओवादी सम्मिलित गठबन्धनले मुलुक अस्थिरतातर्फ धकेलेको आरोप लगाए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको एकल बहुमत सरकार बनेपछि मधेशमा मल कारखाना खोलिने बताए । उनले मिसन २०८४ मा एमालेले बहुमत प्राप्त गरेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने दाबी गर्दै राजनीतिक स्थिरता ल्याउने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको बताए । उनले भने, ‘मुलुकमा राजनीतिक स्थिरता नभएसम्म विकास हुँदैन, त्यसैले राजनीतिक स्थिरताका लागि पनि जनताले एमालेलाई बहुमत दिनुपर्छ । देशमा एमालेको आवश्यकता छ ।’

‘एमालेले देशमा स्थिरता ल्याएपछि मात्र विकास हुन्छ,’ उनले भने, ‘मधेशमा मल कारखाना, कोशी मरिण डाइभर्सन, बन्द उद्योगलाई पुनर्जीवन दिने एमालेको अठोट छ ।’ गाउँ नगरदेखि केन्द्रको राजनीति ४० प्रतिशत युवा समेटेर पार्टी अगाडि बढ्ने उनले बताए । उनले मुलुकलाई स्थिरतातर्फ लैजान एमालेसहितको वर्तमान राजनीतिक समीकरण निर्माण भएको स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ निजगढ फास्ट ट्र्याकको काम तिव्र गतिमा अगाडि बढाइने दाबीसमेत गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेकपा एमाले सम्मिलित वर्तमान सरकारले मुलुकको समृद्धिका लागि ठोस कार्यक्रमसहित सरकार अगाडि बढ्न लागेको बताए । उनले वर्तमान सरकारको प्रमुख एजेण्डा समृद्ध नेपाल र सुखी नेपाली भएको बताउँदै यसका लागि तीनै तहका सरकारको सामुहिक प्रयास हुनु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button