इन्स्पेक्टरको संरक्षणमा असईको असुली आतंक

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लहावरथकरीका इन्स्पेक्टर जितेन्द्र साहको संरक्षणमा असई सुजय सिंहले अवैध रकम असुलीको आतंक मच्चाएपछि स्थानीय समस्यामा परेका छन् । अर्कातिर तस्करीको सामान ओसारपसार गर्नेहरुलाई भने लामो समयपछि उन्मुक्ति र मौका मिलेको छ ।

असई सिंहले सीमा क्षेत्रमा हुने तस्करी रोक्नुपर्नेमा खुलेयाम रकम असुलेर तस्करीलाई बढावा र संरक्षण दिइरहेको प्रमाण मधेशदृष्टिले फेला पारेको छ । असई सिंहले व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनिक हुँदा पनि उनी कारबाहीको दायरामा भने परेका छैनन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेमबहादुर कठायत बिदामा रहेको मौका छोपेर सशस्त्र प्रहरी निरीक्षक साहको संरक्षणमा असई सिंहले तस्करसँग पैसा असुलेका हुन् । डिएसपी बिदामा रहेका बेला सशस्त्र प्रहरी बल १३ नम्बर गुल्मबाट काजमा खटिएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) का विश्वासिलो पात्र मानिने साहको संरक्षणमा असुली आतंक मच्चिएको हो ।

असई सिंहले अवैध असुली आतंकसँगै अनावश्यक धाकधक्कु लगाएर तर्साउने र कुटपिट गर्ने गरेको स्थानीयको गुनासो छ । स्थानीय भन्छन्, ‘असई सिंहले ‘पैसा नदिई कुनै सामान नेपाल भित्र्याउन पाइँदैन, महिनावारी बुझाउनुस्, म मात्रै होइन हाकिमको भाग पनि दिनुपर्छ, तबमात्रै तस्करीको सामान भित्र्याउन पाइन्छ’ भनेर उनले कर्तै उजुरी गरे पनि केही कारबाही नहुने बताउने गरेका छन् ।’ उनले इन्स्पेक्टर साहलाई नै माथिबाट तस्करीको लाइन खुलाउन पठाइएको र ढुक्क भएर पैसा बुझाउन भन्ने गरेका छन् भने ‘एसपी साब’को विश्वासिलो पात्र इन्स्पेक्टर साब र उनको विश्वासिलो पात्र आफू भएको बताउने गरेका छन् । असई सिंहले तस्करी गर्ने व्यापारीसँग १ हजार रुपैयाँ पनि छाड्दैनन् भने १० हजार रुपैयाँसम्म उठाउने गरेका छन् ।

नेपाल भारत सीमा क्षेत्रस्थित सिक्टा, भिस्वा, कठिया मठिया, सबैठवालगायतका नाकाबाट सिंहको इशारामा तस्करी भइरहेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक कठायत कार्यरत रहँदा पूर्णरुपमा बन्द भएको तस्करी उनको अनुपस्थितिमा काजमा गएका इन्स्पेक्टर साह र असई सिंहले खुला गरेर तस्करीमा रमाउनेहरुलाई ‘तगारो’ हटाइदिएका हुन् । चौकीका मुख्य मान्छेहरुले नै नाकाबाट दिनदहाडै तस्करीका सामान रकम लिएर छाडिदिएपछि तस्करहरु निकै हौसिएर सामान नेपाल भित्र्याइरहेका छन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरका विश्वासिलो पात्र मानिने र खुफिया सूचना दिने अब्बल व्यक्ति हुन् असई सिंह । डिआइजी ठाडा मगर तत्कालीन छिनमस्ता बाहिनी मधेश प्रदेश कार्यालय बर्दिबासमा रहँदा असई सिंह सर्लाहीमा लामो समय घुमुवा बसेका थिए । घुमुवा हुँदा तस्कर, व्यापारी, क्रसर व्यवसायीलगायत अवैध गतिविधि गर्नेसँग सेटिङ गर्ने उनको जिम्मा थियो । डिआइजीको नाममा रकम असुली आतंक मच्चाएपछि असई सिंह घुमुवाबाट तानिएका थिए ।

त्यसपश्चात असई सिंह पर्साको पोखरिया आउँदा तत्कालीन डिएसपी भीम चौधरीसँग मर्यादा नाघेर ‘तँतँः मःम’ गरेर झगडामा उत्रिएपछि चौधरीले उनलाई फिर्ता पठाएका थिए । यति मात्रै होइन, उनको राजनीतिक दलका नेतासँग पनि राम्रै हिमचिम रहेको पाइएको छ । असई सिंह आफ्नै जिल्लाबासी नेता डा. अमरेश सिंहसँग पनि निकट रहेकाले उनका नाममा पनि धाक लगाउने गर्छन् । असई सिंह जहाँ गए पनि विवादमा तानिएको उनको रेकर्डले देखाउँछ । शक्ति र पहुँचका आधारमा उनी लामो समयदेखि पर्सामा कार्यरत छन् ।

पर्सामा कार्यरत रहे पनि असई सिंहले डिआइजी ठाडामगरलाई सूचना दिने गरेको बताइएको छ । हाल बागमती प्रदेश गढीमाई बाहिनीमा कार्यरत डिआइजी ठाडामगरलाई असई सिंहले वीरगंजबाट जाने ट्रान्सपोर्टका सामानको सूचना दिने गरेको बताइएको छ । सिंहकै सूचनामा हेटौँडाको रातोमाटेस्थित अवैध रुपमा सञ्चालन गरिएको सशस्त्र प्रहरीको चेकप्वाइन्टले व्यापारीलाई अनावश्यक दुःख दिने, सेटिङ मिलाउने जस्ता काम गरिरहेको पनि स्रोतको दाबी छ ।

आफ्नो कमाण्डर प्रहरी उपरीक्षक (एसपी) लाई जानकारी नदिई असई सिंहले डिआइजी मगरको सुराकीका रुपमा काम गरिरहेका छन् । स्थानीय सर्वसाधारणलाई सीमा क्षेत्रमा ओहोरदोहोर गर्दा लठ्ठीले हिर्काउने, व्यापार नगर्नेसँग पनि पैसा माग्ने गरेर असई सिंहले आतंकित पारेपछि स्थानीयले उनलाई कारबाही माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button