
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा बैठकमा उपस्थित भएका सदस्यहरु मोबाइलमा व्यस्त भएपछि रुलिङ गर्नु परेको छ । बैठकमा मोबाइल नचलाउन र गेम नखेल्न सभामुख रामचन्द्र मण्डलले रुलिङ गरेपछि मधेश प्रदेश सभाका सदस्यहरुको हर्कत बाहिर आएको छ ।
मधेश प्रदेशसभामा मोबाइल निषेध छ । तर प्रदेश सांसद मोबाइल चलाइरहेका हुन्छन् । निषेध गरिएको मोबाइल कसरी भित्र पुग्छ र माननीयहरु त्यसमै रत्तिन्छन् ? प्रश्न उब्जिएको छ । आइतबार सभामुख मण्डलले मोबाइल नचलाउन, गेम नखेल्न रुलिङ गर्नु परेको हो । आइतबार दिउँसो प्रदेशसभामा स्थानीय सेवा गठन, सञ्चालन र सेवा शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेका बेला सभामुख मण्डलले रुलिङ गरेका हुन् ।
‘माननीय सदस्यहरु कि त मोबाइल स्वीच अफ गर्नुपर्यो, कि त साइलेन्ट गर्नुपर्यो र, मोबाइल चलाएर गेम खेल्नेलगायतको अन्य काम बन्द गर्नुपर्यो,’ सभामुख मण्डलले भने । उनले यो रुलिङ् गर्नुपर्ने विषय नभए पनि रुलिङ गर्नुपर्ने अवस्था आएको बताए । ‘यो रुलिङ नगर्नु पर्ने विषय हो । तर मैले चाहिँ रुलिङ गर्नु परेको छ । त्यस कारण यसलाई सिरियस्ली बुझिदिनुहोला,’ सभामुख मण्डलले भने ।






