मेयरले पालिकालाई भ्रष्टाचारको अखडा बनाएको भन्दै चार दल आन्दोलनमा

[mashshare]

अनिल पोखरेल
राजविराज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाहाले भ्रष्टाचार तथा बेथितिलाई बढवा दिएको भन्दै पालिकाका प्रमुख चार राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् । मलाहाले नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको आरोपमा शुक्रबार नगरपालिका अगाडि पत्रकार सम्मेलन गर्दै दलहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले आफूहरूले राखेको माग सम्बोधन गर्न पालिका प्रमुखले आलटाल गरेकाले आन्दोलनको विकल्प नभएको बताए । उनीहरूले पालिकालाई प्रमुखले भ्रष्टाचारको गढ बनाएको आरोप लगाए । पत्रकार सम्मेलनमा जसपाका नगर उपाध्यक्ष ओमप्रकाश यादवले कर्मचारी भर्ना गर्दा रकमको चलखेल गरेको, ८० प्रतिशत योजनाको उपभोक्ता समिति प्रमुख मलाहाले आफैं बनाउने गरेको बताए ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले आफूहरूले राखेको मागको सन्दर्भमा पालिका प्रमुख उदासीन रहेको बताए । कांग्रेसका नगर सभापति नारायण यादवले नगर शिक्षा ऐन संशोधन गर्न, शिक्षक सरुवा खारेज गर्न, कोरोना खर्च सार्वजनिक गर्न, इन्धन खर्च सार्वजनिक गर्न सहितका माग राख्दै दलहरूले ज्ञापन बुझाएको बताए । उनले पालिकामा मेयरले एमालेको भर्ती केन्द्र बनाएको आरोप लगाए ।

जसपा नेपालकै नेता राजेश्वर रायले कर्मचारी भर्ना आह्वान गर्दा कार्यालय सहयोगी पदमा पनि डेढ लाखसम्म असुली गर्ने गरेको पाइएको दाबी गरे । उनले शिक्षा अधिकृत कृष्णकुमार यादव शिक्षालाई बर्बाद गर्न प्रमुखसँग मिलेर भ्रष्टाचारीमा संलग्न रहेको आरोप लगाए । यस्तै डाक्नेश्वरी नगरपालिकाका आर्थिक बर्ष २०८९।८०को लेखापरीक्षणबाट ६ करोड ७१ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button