असार ८ देखि वीरगंज महानगरको नगरसभा हुने

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाको नगरसभा असार ८ देखि १० गतेसम्म हुने भएको छ । मंगलबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले नगरसभा असार ८ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूको तीन सूत्रीय माग सम्बोधन भएपछि नगरसभाको मिति तोक्न सहमति भएको हो ।

बैठकमा वडाध्यक्षहरूले यसअघि उठाएका तीन सूत्रीय मागमध्ये वडाको बजेट वृद्धि गर्ने विषयमा ३८ प्रतिशतले वृद्धि गर्ने सहमति भएको छ । यसैगरी, वडाध्यक्षहरूले वडाको बजेट वडाबाट खर्च गर्न पाउनुपर्ने मागलाई सम्बोधन गर्न महालेखापरीक्षकलाई लेखी पठाएर स्वीकृति लिने निर्णय पनि गरिएको छ । सरसफाइको सन्दर्भमा भने असार मसान्तसम्म यथास्थितिमा राखिने र त्यसपछि निर्णय गरिने बताइएको छ ।

वडाध्यक्षहरूले वडास्तरको सफाई वडापालिकाको कार्यालयबाट गरिनुपर्ने र त्यसका लागि पाँचजना सफाइकर्मी र एकजना ट्याक्टर चालकको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । बैठकले यथार्थपरक बजेट ल्याउने निर्णय पनि गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट एक अर्ब ८४ करोडभित्र हुने अनुमान गरिएको छ । यो नगरसभाले वीरगंज महानगरपालिकाको विकासका विभिन्न महत्वपूर्ण योजनाहरूलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button