
वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले बजेट निर्माण गर्दा थोरै समय पाइएका कारण बजेटमा केही कमीकमजोरी रहेको स्वीकार गरेका छन । उनले बजेट कार्यान्वयनमा चुनौती रहे पनि त्यसलाई वर्तमान सरकारले सहजरुपमै पार लगाउने जिकिर गरे ।
मन्त्रालयले बजेटलाई लिएर गरेको पत्रकार सम्मेलनमा मन्त्री साहले विगत भन्दा यसपटकको सरकार फरक पार्टी र परिवेशमा निर्माण भएका कारण यसले जनताको अपेक्षा धेरै भन्दा धेरै पूरा गर्नेसमेत बताए । उनले भने, ‘पहिले धेरै कुराको निर्णय गर्दा केन्द्रको मुख ताक्नु पथ्र्यो तर अहिले त्यो अवस्था छैन, हामी सबै दलहरु छलफल गरेर नै सबै कुरामा सही निर्णय गर्छौँ ।’ साहले स्थानीय तहलाई समानरुपमै अनुदान दिनेसमेत जिकिर गरे । मन्त्री साहले विगतको सरकारमा टुक्रे योजना धेरै हुने र योजनाको खरिद बिक्रीसमेत हुने गरेका कारण समस्या आएको बताउँदै यसपटक टुक्रे योजना हटाइएको र अधिकांश योजनाको काम टेण्डरमार्फत नै हुने भएकाले काम गर्न सहज हुने बताए ।
साहले धेरै भन्दा धेरै जनअपेक्षाअनुसारका योजना समेटिएको बताए । उनले स्थानीय तहलाई ३० लाख रुपैयाँको दरले विशेष अनुदान र २० लाख रुपैयाँको दरले समपूरक अनुदान प्रतिपालिका दिने बजेटमा राखिएको बताए । बजेटमा सामान्य सार्वजनिक सेवा क्षेत्रमा ५ अर्ब ९३ करोड ५७ लाख २९ हजार रुपैयाँ, सार्वजनिक शान्ति सुरक्षा क्षेत्रमा ८० करोड ९९ लाख ४ हजार रुपैयाँ, आर्थिक मामिला क्षेत्रमा २२ अर्ब ३७ करोड ५३ लाख ९८ हजार रुपैयाँ विनियोजन भएको बताए । यस्तै, उनले वातावरण संरक्षणअन्र्तगत २ करोड ९२ लाख रुपैयाँ, आवास तथा सामुदायिक सुविधा क्षेत्रमा ५ अर्ब २६ करोड ७३ लाख ६५ हजार रुपैयाँ, स्वास्थ्यअन्र्तगत ५ अर्ब २१ करोड ६५ लाख ६ हजार रुपैयाँ विनियोजन भएको छ । यस्तै, मनोरञ्जन, संस्कृति तथा धर्मक्षेत्रमा २ अर्ब ४६ करोड ५३ लाख ८८ हजार रुपैयाँ, शिक्षाक्षेत्रमा ९० करोड ५४ लाख ४३ हजार रुपैयाँ, सामाजिक सुरक्षा क्षेत्रमा ८८ करोड ७२ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
मन्त्री साहले मधेश प्रदेशको स्वास्थ्य, सरसफाइ र शिक्षा, सुक्खाग्रस्त क्षेत्रको सम्बोधनलाई प्राथमिकतामा राख्दै कृषिक्षेत्रको व्यवासायीकरणमा जोड दिइएको प्रष्ट गरे । उनले मधेशको आधार पानी भन्ने नाराका साथ मधेशका नदी जोडने आन्तरिक नहरलाई परियोजनाका रुपमा अगाडि राखिएको बताए ।






