मधेशदृष्टि
बारा ।
कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको गोली हानेर हत्या भएको छ । शुक्रबार साँझ सवा ६ बजे अज्ञात समूहले प्रहार गरेको गोली लागेर उनको ज्यान गएको हो ।
आदर्श कोत्वाल गाउँपालिका वडा नम्बर २, खजुरिया टोलका क्याम्पस प्रमुख कुशवाहालाई वडा नम्बर ३ स्थित बथरा टोलमा साँझ सवा ६ बजे अज्ञात समूहले गोली प्रहार गरेको थियो । अज्ञात समूहले उनको ढाड र पिठ्युँमा गोली दागेका थिए । गम्भीर घाइते क्याम्पस प्रमुख कुशवाहालाई उपचारका लागि वीरगंजस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो । उपचारक्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
क्याम्पस प्रमुख कुशवाहा बिहीबार मात्र बारा सदरमुकाम कलैयाबाट गाउँ गएका थिए । गाउँमा छिमेकीसँग जग्गाजमीनको विवाद रहेको बताइएको छ । जमीनको विवादबारे ५–६ महिना पहिले पनि जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो । कुशवाहाका श्रीमती र ५ वर्षका छोरा छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका दुवै जनाको परिचय भने प्रहरीले खुलाएको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।






