
मधेशदृष्टि
वीरगंज ।
घटना १ः
पूर्वी नवलपरासीको कावासोतीमा बिहीबार नालामा पुरिएर कावासोती–५ का तीनजना कामदार सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु । शुक्रबार दिनभर तनाव । स्थानीयद्वारा नगरपालिका कार्यालय र मेयर विष्णु भुसालको घरमा तोडफोड । मृतकको शिलालेख तयार गर्ने, मृतक परिवारका एक सदस्यलाई रोजगारी र रोजगारी पुस्तान्तरण, मृतकका परिवारलाई ५ लाख नगद र ५ लाख मुद्दती खातामा जम्मा गरिदिने, बालबालिकालाई १२ कक्षासम्म शैक्षिक सामग्रीसहित पढाइको व्यवस्थापन गर्ने १० बुँदे सहमति । बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको हो । घटनामा ४ प्रहरी सामान्य घाइते भएका थिए । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो । वर्षा लागेपछि काम शुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णु भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए । नगरपालिकाले ढल निकासका लागि वैशाख ३० गते सम्झौता गरेर उपभोक्ता समितिमार्फत कावासोतीको थाना चोकदेखि पूर्वतर्फ ढल निकासको काम अगाडि बढाएको थियो ।
घटना २ः
वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र वडाध्यक्षहरुबीच दूरी बढ्दै गएको छ । शुक्रबार बसेको महानगरको बोर्ड बैठकमा बजेट निर्माणका विषयमा मेयर सिंह र वडाध्यक्षहरुबीच सामान्य विवाद भएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । बैठकमा वडाध्यक्षहरुले वडाको बजेट दोब्बरले वृद्धि गर्नुपर्ने माग गरे । उनीहरुले मेयर सिंहसँग वडाबाट संकलन भएको राजस्व वडामा नै खर्च गर्न पाउनु पर्ने माग राखे । उनीहरुले वडाबाट संकलन भएको राजस्व सम्बन्धित वडाको विकासमै खर्च गर्न माग गरे । तर, मागप्रति मेयर सिंह सकारात्मक नभएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको बैठकमा सहभागी एक वडाध्यक्षले जानकारी दिए । वडाको सरसफाइमा ठेक्का लगाउने कि नलगाउने भन्नेमा पनि विवाद देखिएको छ । अधिकांश वडाध्यक्षले वडाको सरसफाइमा ठेक्का लगाउनु उचित नभएको धारणा राखेका थिए । तर, मेयर सिंह ठेक्का लगाउने पक्षमा देखिएपछि वडाध्यक्षहरुसँग उनको दूरी बढ्दै गएको छ ।
घटना ३ः
रौतहटको फतुवा विजयपुर नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत वकिल पालले आफ्नो दुई महिने कार्यकालमा इन्धनबापत १३ लाख, गाडी मर्मत १८ लाख रुपैयाँ र खाजा बापतको ६ लाख रुपैयाँ भुक्तानी गर्न ताकेता गरिरहेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवको नाममा खाता सञ्चालनका लागि सिफारिस गरेपछि अधिकृत पालको बदमासी छताछुल्ल भएको हो । कार्यबाहक मेयर अम्बेया खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत पाल मिलेर कार्यालय सञ्चालनमा करोडौँ भुक्तानी भइरहेको खुलासा भएको छ ।
यता, फतुवा विजयपुर नगरपालिकामा ताला फुटाएर हाजिर भएका उपसचिव सुरेन्द्र प्रधानउपर कारबाही गर्न नगर प्रमुख अम्बेया खातुनको माग छ । गलत मनसायले पटकपटक आउन खोज्नेलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई भेटेर अनुरोध गरेको नगर प्रमुख खातुनले बताइन् । सधैँ र सबै विवादबाट अलग हुन लागेका नगरको आर्थिक, प्रशासनिक, कानूनी तथा राजनीतिकरुपले पारदर्शी रुपमा काम गरिहे पनि गलत नियतले पटकपटक प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रधानलाई नपठाउन समान्य प्रशासन तथा संघीय मन्त्रीलाई उनले आग्रह गरेकी छन् ।
घटना ४ः
पर्साको पकाहा मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीको सरुवा र नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा अशोक रौनियार आउँदै । असार १० गते पालिकाको बजेट ल्याउने बेला प्रमुख प्रशासकीय अधिकृतको सरुवा किन ? पालिकाको बजेट आउने निश्चितता होला कि नहोला ?
घटना ५ः
रौतहटको कटहरिया बजारको फोहोर नउठेपछि बिरोधस्वरुप स्थानीय युवाले कटहरिया नगरपालिका भवनको मूलगेटमा फोहोर थुपारेका छन् । कटहरिया बजार क्षेत्रको फोहोर नउठेको भन्दै आक्रोशित युवाको समूहले शुक्रवार दिउँसो नगरपालिकाको मूलगेटमा एक ट्र्याक्टर फोहोर फालेर बिरोध जनाएका हुन् । नगरप्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाइमा ध्यान नदिएको भन्दै स्थानीय युवाले गुनासो गर्दै आएका छन् । लगत्तै मेयर जैसवालको आग्रहमा युवा समूह, स्थानीय व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिलगायत सर्वपक्षीय आकस्मिक बैठक बसेको थियो ।
बैठकमा मेयर जैसवालले प्राविधिक कारणवश पछिल्लो तीन दिनदेखि बजार क्षेत्रको फोहोर उठ्न नसकेकामा गल्ती स्वीकार गरे । दुई बुँदे सहमतिलगत्तै शुक्रबार अपरान्ह मूलगेटमा थुपारिएको फोहोर व्यवस्थापन गरिएको छ ।
घटना ६ः
पर्साको धोबिनी गाउँपालिका प्रमुख र स्थानीयबीच झडप भएको छ । पालिकाको समस्याप्रति प्रमुखले सुनुवाइ नगरेको भन्दै कार्यालय पुगेका स्थानीयले विरोध गर्दा विवाद भएको हो । स्थानीय अजय पटेल, ललन कुर्मीसहितको नेतृत्वमा गएको टोलीले गाउँपालिका प्रमुख मदन चौहानसँग जनताको समस्या सुल्झाउन माग गरेका थिए । तर पालिकाबाट समस्या सुल्झाउनुको साटो उल्टै स्थानीयलाई हप्कीदप्की गर्न थालेपछि आक्रोशित स्थानीयले पालिकामा नाराबाजी गर्दै प्रदर्शन गरे । यहीक्रममा पालिका प्रमुख चौहानले आफ्ना समर्थक बोलाएर विवाद गर्न खोजे । आक्रोशित स्थानीय र पालिका प्रमुख चौहानसँग विवाद भयो । जनताले पालिका प्रमुखलाई दुव्र्यहार गरेका थिए । पालिका पुगेको प्रहरीको टोलीले घटना नियन्त्रणमा लिएको थियो ।
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा विकासे योजना सम्झौता गरेर निर्माणको हतारोले नवलपुरमा ३ सर्वसाधारणको ज्यान गएको छ । त्यही घटनाले नगरप्रमुखको घर तोडफोड भएको छ र ठूलो रकम नगरपालिकाले क्षतिपूर्ति तिर्नु पर्ने भएको छ । योसँगै मधेश प्रदेशका केही स्थानीय तहहरुमा बिहीबार र शुक्रबार देखिएका दृश्यहरु हुन् । स्थानीय तहले यतिखेर यो वर्ष भएका योजना फछ्र्यौट गर्दै योजनाको भुक्तानी दिनु पर्ने बेला हो । असार १० गते स्थानीय तहले आगामी आर्थिक वर्षका लागि योजना बनाउने, नीति तथा कार्यक्रम ल्याउनु पर्ने बाध्यता छ । तर स्थानीय तहहरुमा कतै मेयर र प्रमुख प्रशासकीय अधिकृतको लडाइँ छ । कतै असारको मुखमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । कतै स्थानीयसँग लडभिड गरेर मेयर नै समय खेर फालिरहेका छन् ।
स्थानीय तहमा जनता, कर्मचारी र जनप्रतिनिधिको द्वन्द्व घट्न सकेको छैन । रौतहटको फतुवाविजयपुरकी मेयर अम्बेया खानुतले नेपाली कांग्रेसबाटै विजित सांसद सुनील यादवको असहयोगका कारण आफ्नो जानकारी बेगर नयाँ कार्यकारी अधिकृत आएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘राजनीतिक द्वन्द्वले नगरपालिकाको काम गर्नै सकिएन, मेयरको जानकारीबिना पनि प्रमुख प्रशासकीय अधिृकत ताला फोरेर हाजिर हुन थालेका छन् ।’
यी घटनाहरुले यस वर्ष पनि मधेशका पालिकाहरुले समयमा नीति तथा कार्यक्रम ल्याउने सम्भावना देखिएको छैन । अर्कातिर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले साउन नभइ कुनै पनि प्रशासकीय अधिकृत नचलाउने भने पनि स्थानीय तहमा देखिएको राजनीतिक दलहरुको द्वन्द्व र रकमी चलखेलले मधेशका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर हुँदा स्थानीय तहहरु चैँ पुराना योजनाको भुक्तानी र नयाँ बजेट बनाउने बेला अस्तव्यस्त देखिएका छन् ।






