
मधेशदृष्टि
वीरगंज ।
ठोरी गाउँपालिकाको समृद्धिका लागि आगामी नीति तथा कार्यक्रममा शिक्षा, कृषि र पर्यटन प्रवद्र्धनका निमित्त विशेष कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ठोरी गाउँपालिकाद्वारा बिहीबार आयोजित आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमको लागि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भौतिक विकास सँगसँगै सामाजिक परिवर्तन र विकासका लागि पनि गाउँपालिकाले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागीहरुले स्थानीय सरकार सफल बन्न दलीय विभेद नगरिकन सबैलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् । यस्तै ठोरीको सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न मौजुदा गाउँपालिकाको शिक्षा ऐन संशोधन, अनुगमनमा कडाई, विद्यालयमा पालिकाको उपस्थिति हुनुपर्ने, स्थानीय पाठ्यक्रम निर्माण गर्दा मातृभाषामा निर्माण गर्नुपर्ने लगायतको सुझाव कार्यक्रममा प्रस्तुत गरिएको थियो । ठोरीमा वृद्धि हुँदै गरेको होटेल व्यवसायमा बढ्दै गएको विकृति विसंगति नियन्त्रणमा कडाई गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्नेमा सहभागीहरुको जोड दिएका थिए ।
कृषिमा विशेष प्राथमिकता, निष्क्रिय अवस्थामा रहेका कृषि सहकारी खारेजी, नमुना टोल विकास हुने किसिमका भौतिक विकास, गुणस्तरीय स्वास्थ्य, खानेपानीको उचित प्रबन्ध, ठुटेखोलाको पानीको सिचाईको स्तरोन्नति लगायतको व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख गर्नुपर्ने सहभागीहरुले सुझाएका थिए । यस्तै विपद व्यवस्थापनमा स्थानीय सरकारको सक्रियता, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको लागि सहज बैङ्किङ सेवाको व्यवस्था नीति तथा कार्यक्रमले समेट्नुपर्ने सहभागीहरुले विचार व्यक्त गरेका थिए ।
ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व उपप्रमुख ठाकुर प्रसाद न्यौपाने, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, एमाले ठोरीका सचिव जोगेन्द्र पौडेल, माओवादी केन्द्र ठोरीका उपाध्यक्ष भक्त बहादुर सुनार, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु राम बहादुर श्रेष्ठ, प्रकाश खनाल, समाजसेवी लेखमान थापा, शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत कुमार श्रेष्ठ, शिक्षक संगठनका केन्द्रीय सदस्य केशव शर्मा लगायतको उपस्थिति थियो ।
सहभागीको सुझाव पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रेग्मीले आगामी दिनमा आफ्नो नेतृत्वमा अन्तरपार्टी सञ्जाल गठन गर्ने घोषणा गरिन् । सबैको चाहना समृद्ध ठोरी नै भएको बताउँदै उपाध्यक्ष रेग्मीले पालिकाको नेतृत्व गर्दा कतै न कतै त्रुटि भएको स्वीकार गरिन् । उपाध्यक्ष रेग्मीले आगामी दिनमा त्रुटि सच्याएर अघि बढ्ने र कार्यक्रमबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरिन् ।






