
वीरेन्द्र रमण
जनकपुरधाम ।
जनता सामाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशबाट एकैपटक राजदुत बोलाउनु कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । शनिबार जनकपुरधाममा जसपा नेपालको पहिलो महाधिवेशन सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले कतिपय राजदुतले भर्खरै काम शुरु गरेकामा सरकारले एकैपटक ११ वटा देशबाट राजदुत बोलाएर कुटनीतिक मर्यादा उल्लंघन गरेको बताए ।
उनले भने, ‘भोलि भारतको प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन निम्तोस्वरुप प्रधानमन्त्री भारत जाने तर त्योभन्दा एक दिन पहिला नै राजदुतलाई फिर्ता बोलाउने ? यो कुटनीतिक मर्यादाविपरीत हो । अन्तर्राष्ट्रिय जगतमा देशैलाई बदनाम गर्ने प्रवृत्ति हो ।’ यो काम गलत रहेको र आफ्नो पार्टी यसको विरोधमा रहेको भन्दै उनले भागवण्डा मिलाउन र आफ्नो मान्छे राख्न राजदुतलाई फिर्ता बोलाइएको बताए ।
अध्यक्ष यादवले वर्षाको समय शुरु हुन लागेकामा किसानका लागि मलखाद, सिँचाइको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यान अन्यत्र रहेको आरोप लगाए । उनले ठाउँठाउँमा उखुका किसान समस्यामा परेको, दुध उत्पादक किसानले पैसा नपाएकाले उखु र दुधका किसानलाई सरकारले तुरुन्त भुक्तानी दिनुपर्ने बताए ।
जसपा अध्यक्ष यादवले भर्खरै सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट आग्रह र पूर्वाग्रहबाट प्रेरित रहेको टिप्पणी गरे । उनले सबैभन्दा बढी जनसंख्या भएको, मानव सूचकांकमा सबैभन्दा पछि परेको, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पछि परेको प्रदेश मधेश रहे पनि सरकारले सबैभन्दा कम बजेट यस प्रदेशमै दिइएको बताए । उनले अहिलेको सरकारले मधेशको विकासलाई आफ्नो विकास नमान्ने गरेको बताए ।
पार्टी फुटेको सवालमा अध्यक्ष यादवले अहिले पनि पार्टीमा सक्रिय सदस्य रहेकामध्ये ९९ प्रतिशत सदस्य जसपा नेपालमै रहेको भन्दै भने, ‘मन्त्रिपरिषद्ले राष्ट्रसंघीय महासभामा जनसंख्यासम्बन्धी समिटमा नेपालको प्रतिनिधित्व गर्न राष्ट्रसंघमा पठायो । राष्ट्रसंघको सभामा सहभागी हुन उड्ने बित्तिकै ५–७ जना सांसदलाई राज्यको सबै स्रोतसाधन दुरुपयोग गरेर, निर्वाचन अयोगलाई समेत घोक्र्याएर बिहान निवेदन दिने र साँझमा पार्टी दर्ता हुने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन ।’
जसपा नेपालको जेठ २८ गते सोमबारदेखि हुने महाधिवेशनले पार्टीको नीति र पार्टी कार्यकर्तालाई अझ बलियो बनाएर सुदृढ बनाइने बताए । उनले महाधिवेशनमा विभिन्न देशका समाजवादी पार्टीको प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको र उनीहरु नेपाल आउने क्रम शुरु भएको बताए । अध्यक्ष यादवले समेतका जनताले यो अधिवेशनबाट आफ्नो अधिकार र पहिचानको मुद्दालाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताए । उनले आफूहरुसँग एकता गरेका विभिन्न पार्टीका नेताहरु अहिले पनि साथ र महाधिवेशनमा सहभागी भएका कारण यसलाई आफूहरुले पार्टीको एकताको महाधिवेशनको नाम दिएको बताए ।
१८ वर्षपछि महाधिवेशनमा यादव उम्मेदवार !
पार्टी विभाजन, केन्द्र र प्रदेश सरकारबाट बहिर्गनको पीडा खेपिरहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशनमा जुटेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधामा सोमदेखि महाधिवेशन हुँदैछ । महाधिवेशनमा सहभागी हुन मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकले आइतबार बेलुकी ५ बजेसम्म दर्ता गरिसक्नु पर्ने बताइएको छ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकले जेठ २८ गते बेलुकी ५ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको छ ।
२०६३ मा मधेशी जनअधिकार फोरम गठनपछि लगातार नेतृत्व गरिरहेका यादव पहिलोपटक महाधिवेशन सामना गर्दैछन् । विभिन्न पार्टीसँग एकता र टुटफुट हुँदै जसपा नेपालको नेतृत्वमा यादव कामयाव छन् । महाधिवेशनबाट पनि उनी नै दोहोरिने दाउ कुरिरहेका छन् । अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राईलगायतले पार्टी फुटाएर जसपा गठन गरेपछि यादव अब पार्टीमा कोही कसैले अध्यक्ष दाबी गर्ने अवस्था नरहेको र अध्यक्षमा ढुक्क भएको बताइएको छ ।
जसपा नेपालको अध्यक्षका आकांक्षी राजकिशोर यादव देखिएका छन् । ‘तर अध्यक्षमा उपेन्द्र यादव नै सर्वसम्मत चयन हुनेछन्,’ प्रवक्ता मनिष सुमनले भने, ‘अध्यक्षमा उपेन्द्रजी सर्वसम्मत हुनुहुन्छ । त्यसमा कुनै दुई मत छैन, तर अन्य पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकारिणीका लागि निर्वाचन हुनसक्छ ।’
यसपटक महाधिवेशनले २० जना पदाधिकारीको निर्वाचन गर्ने भएको छ । अध्यक्ष, सहअध्यक्ष, ५ उपाध्यक्ष, २ महासचिव, ३ उपमहासचिव, ७ सचिव र १ कोषाध्यक्षसहित २ सय १ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । उसो त पार्टीको दोस्रो वरियताको सहअध्यक्षमा राजकिशोर यादव, रकम चेम्जोङ र लालबाबु राउतको पनि दाबी रहेको बताइएको छ । महाधिवेशनमा १ हजार २ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।
महाधिवेशनमा अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई ७ हजार रुपैयाँ, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार रुपैयाँ र केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।






