
मधेशदृष्टि
रौतहट ।
भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुरको पुर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा अन्दाजी ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना बताइएको छ । तर, मृतकको स्पष्ट सनाखत नहुन्जेलसम्मको लागि नाम सार्वजनिक नगरिएको तथा शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताइन् ।
मृतकको शवको केही पर सिजे ०१–२५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ । उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको छ वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालिएको हो खुल्न सकेको छैन । हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।






