टी–२० विश्वकप : नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडोउडले अर्धशतकीय इनिङ खेल्दै आफ्नो टोलीलाई जित दिलाए । उनले ४८ बलमा ४ चौका र एक छक्काको मदतमा नटआउट ५४ रन बनाए । उनलाई बास डे लेडेले नटआउन ११ रन बनाए नेदरल्यान्ड्सलाई जित दिलाउन सहयोग गरे ।

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले २२ तथा सेब्रानड इंगेलब्रेच्टले १४ रन बनाए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले एक एक विकेट लिए ।

यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर पनि ब्याटिङ गर्न सकेन । नेपालले १९.२ बलमा सबै विकेट गुमाएर मात्र १०६ रन बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेल मात्र विश्वकपमा साहसिक खेल प्रस्तु गरे । उनले ३७ बलमा पाँच चौकाको मदतमा सर्वाधिक ३५ रन बनाए । त्यसैगरी अनिल साह ११ रन, ओपनर कुशल भुर्तेल ७ रन, आशिफ शेख ४ रन, कुशल मल्ल ९ रन बनाए । अन्त्यमा आक्रमक ब्याटिङ गर्दै करण केसीले १२ बलमा दुई छक्काको सहयोगमा १७ रन बनाए भने गुल्सन झाले १५ बलमा १४ रन बनाए ।

बलिङतर्फ नेदरल्याण्डका टिम प्रिन्लग्ले र लोगन भान बीकले समान ३–३ विकेट लिए भने पाउल भान मिकेरेन र बास डे लेडेले समान दुई दुई विकेट लिए ।

नेपाली खेलाडी क्षमतावान रहेपनि ठूला प्रतियोगितामा हतोत्साहित हुने गरेका छन् । नेपालले सामान्य लक्ष्य दिएपनि कसिलो बलिङ गरेको थियो तर फिल्डिङ झुर भएपछि नेपालले खेल गुमाउन पुगेको हो । नेपालले फिल्डिङका क्रममा मह्त्वपूर्ण क्याचहरु छोडेको थियो, जसका कारण नेपाल पराजय भोग्न पुग्यो ।

नेपालको समर्थनमा अमेरिकी खेल मैदानदेखि काठमाडौँको टुडिखेल मैदानसम्म खेलप्रेमीहरु उत्साहित भएर नेपालको समर्थनमा जुटेका थिए । देशका विभिन्न स्थानमा ठूलो पर्दामा नेपालको खेल हेर्न समर्थकले व्यवस्था गरेका थिए । तर, नेपालको खेलले उनीहरुलाई निरास बनाएको थियो ।

विश्वकप प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

विश्वकपमा मंगलबार आफ्नो पहिलो खेल खेलेको नेपालले अब जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button