
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानरपालिकामा केहिदिन यता डेंगी, मलेरिया लगायतको संक्रमण देखापर्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि स्वास्थ्य कार्यालय पर्साले महानगरका वडाहरुमा विषादी र विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरेको छ । पहिलो चरणमा सोमबार स्वास्थ्य कार्यालय पर्साले वीरगंज महानगरपालिकाका १ देखि १६ नम्बर वडा कार्यालयमा १३ लाख रुपैयाँ मुल्य बराबरको लामखुट्टे मार्ने बायोडाट नामक विषादी र १६ थान स्प्रे ट्यांकी वितरण गरेको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर ३ स्थित महानगरको शैक्षिक तालिम केन्द्रमा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तीनारायण साहले वीरगंज महानगरका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव, सरसफाई महाशाखा प्रमुख सरफुदिन मियाँ र वडाध्यक्षहरुलाई विषादी र ट्यांकी प्रदान गरेको वीरगंज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्दिन मियाँले जानकारी दिए ।
अहिले वीरगंज महानगरपालिका क्षेत्रमा डेंगीको संक्रमण देखा पर्न थालिसकेकाले त्यसैैलाई मध्यनजर गरेर पहिलो चरणमा बजार क्षेत्रका १६ वटा वडामा विषादी र स्प्रे ट्यांकी वितरण गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । डेंगी, कालाजार, मलेरिया, इन्स्फ्लाइटीस लगायतका संक्रमणको प्रकोप नियन्त्रणका लागि १६ वटा वडामा विषादी र ट्यांकी वितरण गरिएको र बाँकी १६ वटा वडामा पनि दोश्रो चरणमा ती सामग्री वितरण गरिने ठाकुरले बताए ।






