
मधेशदृष्टि
जनकपुरधाम ।
अल्पमतमा परेका तर प्रतिपक्षीहरुले सामना गर्न नसकेपछि सत्तामा टिकिरिहेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सत्ता जोगिने अनुमान शुरु भएको छ । उनले समयावधिको एकसाता अगाडि नै जेठ २३ गते पाँचाँैपटक विश्वासको मत लिने बताएपछि कतै यादवको सत्ता जोगिएको हो कि भन्ने अनुमान गरिएको छ । एमाले–माओवादी–जनमतले यादव सरकार ढाल्न खेलेको खेलमा डटेर सामना गरिरहेका यादव अन्ततः विश्वासको मत लिने र नीति तथा बजेटसमेत ल्याउने तयारीमा जुटेपछि अरु ३ दल भने हेरेको हेर्यै भएका छन् ।
जनकपुरमा पत्रकारहरुसँगको कुराकानीमा जेठ २१ गतेदेखि बजेट अधिवेशन शुरु हुने र २३ गते आफूले विश्वासको मत लिने मुख्यमन्त्री यादवले जानकारी दिए । त्यस्तै, मुख्यमन्त्री यादवले मधेश सरकारले गैरकानुनीरूपमा केही पनि कदम नचालेको बताए । कानूनअनुसार नै सरकारले स्थानीय तहलाई सशर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर गरिने उनको भनाइ छ ।
सोमबार नै मुख्यमन्त्री यादवलाई एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोसपा नेपालले अल्पमतको सरकारले दीर्घकालीन असर पर्ने निर्णय गर्न नहुने भन्दै ध्यानाकर्षण गराएको थियो । त्यस्तै, उनले आफू अहिले पनि अल्पमतको मुख्यमन्त्री नभएको दाबी गरे ।
यता, मधेश प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिनेबारे नेपाली कांग्रेस र नेकपा एसले पनि छलफल चलाएपछि मधेश सरकारको मुख्यमन्त्री दौडधूपमा रहेका एमाले–माओवादी–जनमतका प्रदेश सभा सदस्यहरुको दौड कमजोर हुने अवस्थामा पुगेको छ । अहिले पनि केन्द्र र प्रदेश सत्तामा साझेदार रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बुधबार प्रतिपक्षी दलको बैठकमा सहभागी भएपछि मधेशमा पुरानै सत्ता कायम रहने अनुमान गर्न थालिएको हो ।
मुख्यमन्त्री यादवलाई आवश्यक मत ५४ हो । वैशाख ३० गते एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि पाँचौँपटक विश्वासको मत लिने तयारीमा रहेका यादवको पार्टी जसपा नेपालबाट प्रदेश सभामा १९ सांसद छन् । यस्तै, प्रतिपक्षीमा रहेको नेपाली कांग्रेसका २२ सदस्य छन् । सत्ताबाट बाहिरिएर बसेको र जनमत–एमाले–माओवादी गठबन्धनको बैठकमा पनि एकाधपटक चिया पिउन पुगेको लोसपाका ८ सदस्य छन् । यस्तै, जसपा नेपाल गठबन्धनमा सरकारमा रहेको नेकपा एसका ७ सांसद छन् । यदि लोसपा र नेकपा एसले साथ दिएको अवस्थामा जसपा नेपालको बहुमत पुग्ने देखिएको छ । १ सय ७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सदस्य आवश्यक पर्नेमा लोसपा र नेकपा एस एकठाउँमा उभिए कांग्रेसको प्रस्ताव र सहयोगमा जसपा नेपालको मधेश प्रदेश सरकारले निरन्तरता पाउने देखिएको छ ।
यसअघि केन्द्र गठबन्धनमा साझेदार भए पनि नेकपा एसलाई वास्ता नगरी लोसपालाई मात्र बैठकमा सहभागी गराउँदै आएको जनमत, एमाले र माओवादी आआफैँ मुख्यमन्त्रीमा दाबी गर्दै लोसपा र नेकपा एसको समर्थन रहेको बताइरहँदा दुवै दलले सहमति नभएको बताएका मात्र थिएनन्, तीनै दलले एकले अर्कालाई मुख्यमन्त्री दिने सहमति नभएको भन्न थालेपछि बहुमत सदस्य प्रदेश प्रमुखका अगाडि उभ्याएर विश्वासको मत पनि दिन नभ्याउने गरी मुख्यमन्त्री फेर्ने भनेर हौसिएका एमाले–माओवादी–जनमत गठबन्धन पनि बेरोजगार बनेको थियो ।
स्रोतका अनुसार, गण्डकी प्रदेश सरकारलाई अदालतले पुनःस्थापना गरेपछि बुधबार बसेको प्रतिपक्षीको बैठकमा माधवकुमार नेपालको उपस्थितिलाई मधेश सरकारबाट पुरानै गठबन्धनलाई निरन्तरतासँगै एमाले–माओवादी गठबन्धनलाई धक्का पुग्ने अनुमान गरिएको छ । अहिलेलाई यादव सरकारलाई बहुमत दिनसके बाँकी प्रदेशमा अर्को तयारी गर्ने गरी छलफल भएको बताइएको छ । बुधबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको बैठकमा माधव नेपालका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।






