
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुलुकमा असमानता तथा विभेद रहेसम्म मानवअधिकार आयोगजस्ता संस्थाको आवश्यकता रहिरहने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ स्थापना दिवसमा मधेश प्रदेश कार्यालयले आइतबार जनकपुरधाममा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मुलुकको संविधानमा मानव अधिकारलाई दृष्टिकोणले निकै राम्रो भएको बताउँदै समानता तथा मौलिक हकका कुरा कार्यान्वयनमा जोड दिएपछि मुलुकमा मानव अधिकारको अवस्था उच्चतम विन्दुमा पुग्ने बताए ।
सभामुख मण्डलले मुलुक समृद्धितर्फ गएपछि मानव अधिकारको उच्चतम अभ्यासको शुरुवात हुने भएकाले मुलुकलाई समृद्धिको बाटोमा लैजान अधिकतम प्रयास आवश्यक भएको बताए । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले मानव अधिकारका लागि राज्यले धेरै व्यवस्था गरे पनि पालिकामा प्रमुख तथा उपप्रमुखबीच भएको टकरावका कारण न्यायिक समितिले प्रभावकारी किसिमले काम गर्न नसकेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले सरकारी कार्यालयले प्रभावकारी किसिमले सेवा प्रवाह गरेको खण्डमा मानव अधिकारका धेरै विषयको आफैँ सम्बोधन हुने दाबी गरे । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले मानव अधिकारको विषय क्रस कटिङ्गसँग जोडिएका हुनाले मानव अधिकारको विषय हरेक विषयसँग जोडिएर आउने गरेको बताए ।
महिला मानव अधिकार रक्षक सञ्जालका मधेश प्रदेशका अध्यक्ष अधिवक्ता रेखा झाले सरकारी कार्यालयमा नागरिकको सेवामा हुने गरेका ढिलाइका कारण मानव अधिकार उल्लङ्घन हुने गरेको बताउँदै त्यसमा पनि पुरुष भन्दा महिला सेवाग्राही बढी मारमा पर्ने गरेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेशका निमित्त कार्यालय प्रमुख रेखा दत्तको अध्यक्षतामा भएको कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव उत्तम खरेल, मधेश प्रदेशका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोरा, प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक कृष्णदेव दास र जिल्ला प्रहरी कार्यालय धनुषाका महिला तथा बालबालिका शाखाका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले मानव अधिकारको रक्षाका लागि आयोगले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।






