
एसपी गौरब
सर्लाही ।
सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर १ बारा उधोरणका आगलागीपीडित ६१ घरधुरीलाई नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय समितिले राहत वितरण गरेको छ । वैशाख २० गते भएको आगलागीबाट विष्णु गाउँपालिका वडा नम्बर १ बारा उधोरण पूर्व टोलका ६१ घर पूर्ण रुपमा नष्ट भएका थिए ।
आफ्नो घरसहित खाने तथा लगाउने लत्ताकपडा समेत जलेर नष्ट भएका विष्णु गाउँपालिका वडा नम्बर १ बारा उधोरण पूर्वटोलका ६१ घरधुरीलाई खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरिएको नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुवरले जानकारी दिइन् ।
उनका अनुसार नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय समितिले विष्णु गाउँपालिका वडा नम्बर १ बारा उधोरण पूर्व टोलका ६१ घरधुरी आगलागी पीडित परिवारलाई खाद्यान्नसहित अन्य राहत सामाग्री वितरण गरिएको हो ।
आगलागि पीडित परिवारहरुलाई राहत सामाग्री वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय समितिकी अध्यक्ष कुवरको प्रमुख अतिथ्यता तथा बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहर लाल प्रसाद यादवको विशेष आतिथ्यतामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख एवम प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेल र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहलगायत अन्यको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।






