
मधेशदृष्टि
वीरगंज ।
झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आमा–छोरालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी अमन जलान भन्ने अमन चौधरी(अग्रवाल) र उनका आमा अंजु चौधरीलाई प्रहरी चौकी आदर्शनगरले पक्राउ गरेको हो ।
२३ साउन २०८० मा बसेको मन्त्रीपरिषद्को बैठकले अमन चौधरी (अग्रवाल) ले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएको नागरिकता रद्द गरी कारबाही गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट २५ कार्तिक २०७७ मा चौधरीले वंशजको नेपाली नागरिकता लिएका थिए । मन्त्रीपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले ३१ भदौ २०८० मा भारतीय नागरिक अमन चौधरी (अग्रवाल) को नागरिकता रद्द गरेको थियो । असोज २०८० मा पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी आदर्शनगरले उनीहरुलाई शुक्रबार बिहान प्रक्राउ गरेको हो । दुवै जनाविरुद्ध नागरिकता सम्बन्धी कसूरमा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






