गृहमन्त्री र मेयरविरुद्ध कांग्रेसको प्रदर्शन र ज्ञापन

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेपाली कांग्रेसले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाललाई ज्ञापनपत्र बुझाउँदै लोकतान्त्रिक पद्धतिमा सार्वजनिक पद धारण गरेका व्यक्तिउपर सार्वभौम जनताले सुक्ष्म रुपमा नियालिरहेको हुने र हरेक गतिविधिको प्रशंसा तथा विरोध हुने भएकाले समाजप्रति जवाफदेही हुनै पर्ने दोहोर्याएको छ ।

कांग्रेस पर्सा सभापति जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा मंगलबार निस्केको जुलुशले नगर परिक्रमा गर्दै भुषाललाई ज्ञापन पत्र बुझाएको हो । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध सरकारी कागज कीर्ते मुद्दा तथा कीर्ते नागरिकता मुद्दामा निष्पक्ष छानबिन गर्ने प्रकृयामा ढिलाई भएको र सहकारी ठगीमा संलग्न रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न नेपाल विद्यार्थी संघ पर्साद्वारा जेठ ४ गते शुक्रबार साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा माईस्थान चोकमा नगर प्रमुखद्वारा परिचालित केही अराजक व्यक्तिको समूहले कार्यक्रममा अवरोध गर्नुको साथै सांघातिक आक्रमण गरेको घटनालाईसमेत गम्भीर रुपमा लिइएको कांग्रेसले जनाएको छ ।

आक्रमणमा नेविसंघ पर्साका अध्यक्ष रमेशकुमार यादव, उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, महमद नौसाद र नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादव घाइते भएको घटनाप्रति कांग्रेस पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोकतान्त्रिक व्यवस्थामा आफ्नो विचार राख्ने र शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने संवैधानिक व्यवस्था रहेकाले अरुको संवैधानिक मौलिक हक हनन गर्ने नियतले अराजक समूह परिचालन गरी अवरोध गर्ने तथा आक्रमण गर्ने कार्यको कांग्रेस पर्साले घोर भ्रत्सर्ना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानून बमोजिम आवश्यक कारबाही गर्न मागसमेत गरेको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा नेपाली कांगे्रस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगंज महानगपालिकाका उपप्रमुख एवम् कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलम, पूर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा, क्षेत्र नम्बर २ का सभापति मोहम्मद सहाबुद्दिनलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button