तीनपुस्ताको ४८ वर्ष यातायातमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

अच्युत पौडेल
अच्युत पौडेल

अच्युत पौडेल । बारामा उनको परिचय अनेक छ । अलि अघिल्लो पुस्ता उनलाई कन्सर्ट आयोजकका रुपमा चिन्छन् । अहिलेको पुस्ता रेडियोमा पनि पौडेललाई भेट्छन् । यातायात व्यवसायीका रुपमा पनि चिनिन्छन् । हो, अलग अलग परिचय छ पौडेलको ।

पौडेल सम्पूर्ण यातायात व्यवसायी संघ बाराका अध्यक्ष हुन् । उनी रेडियोका सञ्चालक पनि हुन् । भन्छन्, ‘जिन्दगी यस्तै छ, झण्डै १ सय ५० वटा जति म्युजिक कन्सर्ट गर्दै देश घुमेँ, सुरुमा मेरो पेसा नै यही थियो, अहिले फेरि बस व्यवसायमा जोडिएको छु ।’

३५ वर्षअघि यातायात व्यवसायीबीतमा अशोक पौडेल (बीचमा कालो सर्ट लगाएको)

उसो त पौडेल यो पेसामा आएका नयाँ अनुहार होइनन् । यसअघि उनका बुबा पनि थिए । बुबाअघि हजुरबुबा पनि यही पेसामा थिए । ‘तीन पुस्ता एउटै व्यवसायमा जोडियौँ,’ मौलापुर बसपार्कमा भेटिएका पौडेलले भने, ‘हजुरबुबा ईश्वरी पौडेलपछि बुबा अशोक पौडेलले गरेको काममा अहिले म पनि जोडिएँ, अरु काम गरे पनि अहिले बस व्यवसाय नै प्रमुख भएको छ, यातायात व्यवसायीको अध्यक्ष पनि भएको छु ।’

सन १९७५ अर्थात् ४८ वर्षअघि पौडेलका हजुरबुबाले यायायात व्यवसायमा हात हाले । ‘अब दुई वर्षपछि त ५० वर्ष पो पुग्दैछ,’ पौडेलले भने, ‘तीन पुस्ता एउटै क्षेत्रमा होमियौँ, लाग्यौँ, ४८ वर्ष यसैमा छौँ ।’ उनले हजुरबुबाले भारतको जालन्धरबाट बस किनेर ल्याएर पेसा सुरु गरेको सुनाए । बारामा यातायात व्यवसायी संघको घर निर्माणताका पौडेलका बुबा अशोक यातायात व्यवसायीका नेता थिए ।

‘यही पेसाले हामीलाई सडकमा पनि ल्यायो, फेरि हामीलाई माथि पनि पु¥यायो,’ पौडेल सुनाउँछन्, ‘हामीले यातायात व्यवसाय छाडेनौँ, यातायात व्यवसायले पनि हामीलाई छाडेन ।’

‘समय अनुसारका साधनहरुमार्फत सेवा ग¥यौँ,’ पौडेल भन्छन्, ‘अहिले एयर कन्डिसनसहित चार थरिका गाडीमार्फत यातायात सेवा दिइरहेका छौँ ।’ विगत सम्झँदै पौडेल भन्छन्, ‘गाउँको बाटो, सडक थिएन, खाल्डाखुल्डी थिए, इँटका टुक्रा किनेर खाल्डो भरेर गाडी चलाउथ्यौँ ।’ उनले अहिले बाटो सुगम भएको बताए । ‘सेवा राम्रो दिने हो भने यात्रु कम छैनन्, अहिले त भारत नजिक बसपार्क छ, भारतीय बजार घोडासनदेखिका यात्रु हाम्रो सेवा लिइरहेका छन्,’ पौडेलले भने, ‘हाम्रो बस भक्तपुरसम्म जाने भएकाले पशुपति जाने, विदेश जानेहरुलाई कलंकीबाट ट्याक्सी चढ्न नपर्ने रुटमा चलाएका छौँ, उनीहरुको ट्याक्सी भाडा पनि जोगिएको छ, यात्रु हाम्रो सेवाबाट खुशी छन् ।’

‘यहाँबाट काठमाडौँको भाडा १ हजार १ सय रुपैयाँ लिने गरेका छौँ,’ पौडेलले भने, ‘पहिला गौर हुँदै चपुर घुमेर जाँदा यात्रुलाई टाढा पथ्र्यो । अहिले पिलुवा हुँदै निस्केर काठमाडौँ जाने भएकाले यात्रुलाई सहज भएको छ ।’ हजुरबुबाले थालेको पेसामा सक्रिय पौडेल मधेशमा रेडियो स्थापनाकालदेखि नै सक्रिय रेडियो सञ्चालक पनि हुन् । उनीहरुको तीन पुस्ता यातायातमा संलग्न भएबापत टाटा कम्पनीले डिएनए अवार्ड पनि दिएको छ ।

एकै परिवारका तीन पुस्ता यातायातमा संलग्न भएबापत प्राप्त टाटा डिएनए अवार्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button