
मधेशदृष्टि
वीरगंज ।
गत शनिबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी मनिषा देवीको घटना अनुसन्धानमा प्रहरीले चासो नदिएको पीडित परिवारले गुनासो गरेका छन् । वीरगंज उपमहानगरपालिका वडा नम्बर १२ मुर्लीमा विवाह गरेको ६ महिना नबित्दै केटा पक्षले आफ्नो छोरीको दाइजोको लोभमा हत्या गरेको पीडित पक्षको आरोप छ । धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर घर भएकी मनिषाको २०८० मंसिर ९ गते मुर्लीका रवि साह कानुसँग विवाह भएको थियो । विवाह भएदेखि नै केटा पक्षले दाइजोमा सुनको सिक्री, ब्रासलेट, मोटरसाइकल, फ्रिज र वासिङ मेसिन नपाएको भन्दै मनिषालाई दुःख दिने गरेको मनिषाकी आमा कलावती देवीले बताइन् ।
उनले भनिन्, ‘विवाहपछि नै केटाका आमा सीमा देवी, बुवा बद्री साह कानु र मामा दुर्गा साह कानुले दाइजोमा धेरै सामान नदिएको भन्दै छोरीलाई दुःख दिने गरेका थिए ।’ छोरीले फोन गरेर सासुले दाइजोमा सामान नपाएको भन्दै गालीगलौज गर्ने गरेको कलावतीको भनाइ छ । उनले भनिन्, ‘हामीले दाइजोमा एकमुष्ट ८ लाख रुपैयाँ दिएका थियौँ, अनि सामान कहाँबाट दिने, बिहेमा सबै गरेर करिब १४ लाख रुपैयाँ खर्च भएको छ । बिहे भएको ६ महिना पनि भएको छैन, छोरीको हत्या गरे, अनि आफैँ ‘फासी झुली’ भनिरहेका छन् ।’
घटना छानबिन गर्न र दोषीलाई कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न पुगे पनि प्रहरीले किटानी जाहेरी लिन नमानेको मनिषाका बुबा नरेश साह कानुको गुनासो छ । उनले भने, ‘तीन दिनदेखि प्रहरी कार्यालय धाइरहेको छु, प्रहरीले जाहेरी लिन मानेको छैन, आज (मंगलबार) जाहेरी दरखास्त हुलाकमार्फत पठाएको छु ।’
यता, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जाहेरी लिएको बताए । ‘घटनाको जाहेरी लिएका छौँ, शवको पोष्टमार्टन रिपोर्ट नआउँदासम्म किटानी जाहेरी लिन मिल्दैन । रिपोर्ट आएपछि हत्या गरिएको हो कि आत्महत्या हो यो यकिन हुन्छ ।’ घटनाको करिब २० दिन पहिले केटा पक्षले छोरीलाई गालीगलौज गरी घरबाट निकालेको मनिषका बुबा नरेश साह बताउँछन् । उनले भने, ‘केटा पक्षले पिटेर घरनिकाला गरेपछि छोरी आफ्नो नातेदारको घरमा गएर बसेकी थिइन्, पछि जानकारी आएपछि यसबारेमा दुवै पक्षबीच छलफल भएको थियो । पछि यस्तो गल्ती नहुने भनेपछि छोरी ससुरालमा बसिरहेकी थिइन्, अहिले अनाचक छोरीको हत्या गरे ।’
बहिनी मनिषालाई ससुराल पक्षले थप दाइजो ल्याउन दबाब दिइरहेको दाइ अजय साह कानु बताउँछन् । उनले भने, ‘बहिनीले फोनमा दाइजो नल्याएको भन्दै केटा पक्षले दुःख दिइरहेका थिए । ८ लाख नगद ‘बिल्टिकट’ दिने सहमति थियो, त्यति दिऔँ, अब कति दिने । दाइजोको लोभमा मेरो बहिनीको हत्या गरेका छन् उनीहरुले ।’ उनले भने, ‘उनीहरुले ‘सुसाइड गरेको हो भन्छन्, तर, यो फोटो हेर्नुस्, कसले भन्छ यो ‘सुसाइड’ हो । पंखामा सलले बाधेर लाश पलङमा छ । दुवै खुट्टा पलङको अगाडि फर्केको छ । पुलिस आउनुभन्दा पहिले नै झुन्डिएको कोठाको ढोका खुलेको छ ।’
घटनाबारे जानकारी पाउनेबितिकै घरमा पुगेका वीरगंज–१२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ताले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने बताए । उनले भने, ‘छानबिन गर्ने काम प्रहरीको हो, उसले आफ्नो काम गर्छ । रिपोर्ट नआएसम्म कसैलाई दोष दिन मिल्दैन् ।’ वडाध्यक्ष गुप्ताले भने, ‘घटनाको खबर आएपछि म त्यहाँ पुगेको थिएँ । घटना भएको कोठा खुलै थियो । प्रहरीलाई फोन गरेर बोलाएँ । यसबारेमा प्रहरीले अनुसन्धान गर्छ ।’ मनिषाको सुनियोजितरुपमा हत्या गरिएको परिवारको दाबी छ । घटनाको निष्पक्ष छानबिन गर्न र न्याय गर्न पीडित परिवारको माग छ ।






