विद्यार्थीसँग ‘कक्षा कोठामा मेयर’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
आइतबार बिहान ७ बजे वीरगंजको बहुअरीस्थित शारदा मावि पुग्दा वीरगंज महानगरका मेयर राजेशमान सिंह कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको भेटिए । महानगरले शुरु गरेको ‘कक्षा कोठामा मेयर’ कार्यक्रमअन्तर्गत उनी बिहानै शारदा मावि पुगेका थिए ।

कक्षाकोठामा विद्यार्थीसँगै बसेर मेयर सिंहले उनीहरुलाई आफ्नो अनुभव र जीवन भोगाइका कुरा बताइरहेका थिए । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि हिम्मत कहिल्यै पनि हार्न हुँदैन भन्दै उनले विद्यार्थीलाई उत्प्रेरणा जगाउने काम गरिरहेका थिए । अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समानरुपमा अघि बढाउन विद्यार्थीलाई उनले आग्रह गरे ।

मेयर सिंहले विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याबारे पनि जानकारी लिए ।विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीमा उत्साह जागृत भएको मेयर सिंह बताउँछन् । विद्यार्थीमा उत्प्रेरणा बढाउन मेयर सिंहले विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिने गरेका हुन् । यसअघि विद्यार्थीको हौसला बढाउन त्रिजुद्ध मावि पुगेका थिए ।

मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै चाख बढेको र हौसला मिलेको शारदा माविका प्रधानाध्यापक विनोद मेहता बताउँछन् । कक्षामा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीको हौसला बढाउन कक्षा लिएका थिए । मेयर सिंहले विद्यालयको अनुगमनसमेत गर्दै त्यहाँ उपलब्ध साधनस्रोतको स्थिति तथा प्रयोगको अवस्थाबारे समेत जानकारी लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button