राजेन्द्र महतोद्वारा संघर्षका कार्यक्रम घोषणा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
बहुलराष्ट्रिय राज्य स्थापना गर्न राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । काठमाडौँ नयाँ बानेश्वरमा शनिबार पत्रकार सम्मेलनमार्फत राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

राष्ट्रिय मुक्ति क्रान्तिको गभर्निङ्ग काउन्सिलको जेठ १ देखि ३ गतेसम्म र मधेश–थरुहटका नेताहरुसँग जेठ ३ देखि ५ गतेसम्म भएको बैठकबाट पारित दोस्रो चरणको कार्यक्रम र निर्णयहरु पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएको संयोजक राजेन्द्र महतोले बताए । दोस्रो चरणको आन्दोलन अन्तर्गत अन्तरक्रिया, बृहत सभा, बृहत सम्वादात्मक कार्यक्रम, विरोध प्रर्दशन, आम सभा, प्रशिक्षण जस्ता कार्यक्रम घोषणा गरेको हो ।

अभियानले जेठ ६ गते पूर्वी रुकमबाट अभियानको सुरुवात गर्दै असार ४ गते माइतीघर मण्डलाबाट नेवाः राष्ट्रको सत्ता दाबी गर्दै कार्यक्रमको समापन गर्नेछ । १०१ वटा कार्यक्रम घोषणा गरेको अभियानले जेठ १५ गते वीरगंजमा सम्वादात्मक कार्यक्रम गर्ने छ भने जेठ १६ गते बाराको कलैयामा अन्तरक्रिया कार्यक्रम गर्ने राष्ट्रिय मुक्ति क्रान्तिका नेता नेजामुदिन समानीले बताए । त्यसैगरी जेठ २१ थरुहट र मगरातको सामुदायिक गुठी विशेष बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा दाङमा आयोजना गर्नेछ ।

त्यस्तै जेठ २६ गते विराटनगरमा कोशी नाम खारेजी तथा राज्य पुनर्संरचना विरुद्ध वृहत् प्रदर्शनी तथा आमसभा, जेठ २९ गते बाग्लुङको बुर्तिवाङमा ढोरपाटन सिकार आरक्षणविरुद्ध बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा हुनेछ भने असार १ गते मधेशी पहाडी बृहत् एकता प्रदर्शनी तथा आमसभा सर्लाहीमा गर्ने संयोजक महतोद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

अभियानले नेवाः राष्ट्रिय परिषद्, चौवाङ राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, लिम्बुवान राष्ट्रिय परिषद्, चेपाङ राष्ट्रिय परिषद् गरी १२ वटा परिषद् गठन गरेको छ । यस्ता ५० वटा परिषद् बनाउने तयारी अभियानको रहेको छ । परिषद्हरू सबैले आ–आफ्नो सत्ता आफै सञ्चालन गर्नेछन् । तिनीहरूका आफ्नै विधान र संरचना हुनेछन् । ‘देशमा हरेक समुदायको आ–आफ्नो राष्ट्रियता र पहिचान छन् । ती पहिचानको आधारमा स्वशासन हुनुपर्ने माग राखिनेछ,’ नेता समानीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button