जनतालाई पानीको प्यास, नेतालाई सत्ताको प्यास

सम्पादकीय

[mashshare]

मधेशमा पानीको संकट पुरानो विषय होइन । मधेश प्रदेशका विभिन्न जिल्लामा पानीको स्रोत सुकेको समाचार माघदेखि नै आएको हो । स्थानीय तहमा पानीको स्रोत व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ । मधेशको राजधानी धनुषाका स्थानीय तह, आर्थिक नगरी वीरगंजसँगै पर्साका विभिन्न स्थानीय तहमा पानीको अभाव हुन थालेको छ । स्रोत सुकेका छन् । खानेपानी संस्थानले पनि धारा वितरण र धारामा पानी वितरणलाई प्रमुख एजेन्डा बनाए पनि मागअनुसार पानी वितरण समस्या बनेको छ । यतिखेर गर्मी बढिरहँदा आसपासका तलाउ, पोखरी, धारा पनि सुक्दा मधेशमा सर्वसाधारण आकुलव्याकुल बनेका छन् । स्थानीय तहले पनि पार्नी वितरण गर्नु पर्ने अवस्था आएको छ । ट्यांकरमा पानी ओसारेर वडावडामा बाँड्नु पर्ने पुरानै नियती दोहोरिएको छ । यो नियती फेरि मधेशमा यतिखेर सबैले भोगिरहेका छन् । मधेशका अधिकांश भूगोल सुक्खा भएकाले पानीको समस्या भएको हो । जंगलमा डढेलो लाग्दा सुक्खापन अरु बढेको छ । जंगली जनावर पनि पानीको अभावमा बस्तीमा पस्ने गरेका छन् । फलतः बाघले स्थानीयलाई सिकार बनाइरहेको छ । स्थानीयले बाघ मारेर पर्यावरणमा असर पारिरहेका छन् ।

उसो त यतिखेर मधेशमा पानीको मात्र संकट छैन । राजनीतिक संकट अरु चुलिएको छ । मधेशको राजधानी जनकपुरधाममा देखिएको राजनीतिक संकट हेर्ने भने दलहरु एकले अर्कालाई विश्वास गरिरहेका छैनन् । यसको सरकार मधेश प्रदेश सरकार बनाउँछौँ भनेर सरकारलाई दिइएको समर्थन फिर्ता लिएका दलहरु बजेट सकाउने बेला आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदा लगभग पछुताइरहेका छन् । उनीहरुले खर्च हुन नसकेको बजेट खर्च गर्ने जेठ महिनामा आफ्ना मन्त्रीहरु सरकारबाट फिर्ता बोलाउँदा बजेट खर्च गर्न पाएका छैनन् । नयाँ सरकार बनिहाल्ने अवस्था टरिरहेको छ । तत्काल सरकार बनाउन सक्ने अवस्थामा दलहरुबीच विश्वासको वातावरण बनेको छैन ।

जनमत पार्टीले मुख्यमन्त्री पाउने र यसमा नेकपा एस र लोसपाको पनि समर्थन रहेको खबर जनमतले सञ्चार गरेलगत्तै दुवै पार्टीले खण्डन गरेपछि जनमतले आफ्नो विश्वासको वातावरण बिगारेको छ । उता, जनमतको मुख्यमन्त्री स्वीकार्न तयार नभएको नेकपा एमाले र माओवादीलाई पनि लोसपा र नेकपा एसको विरोधले अरु उत्तेजित हुन अवसर मिलेको छ । नेपाली कांग्रेस, लोसपा, नेकपा एसलगायतका दलहरु एक भएको अवस्थामा जसपा नेपालको मुख्यमन्त्रीले विश्वासको मत पाउने अथवा जसपा नेपालको पनि समर्थनमा यी दलहरुले प्रदेश सरकार बनाउन सक्ने वातावरण बनेकाले जनमत, एमाले र माओवादी अरु संकटमा परेको देखिएको छ ।
जनता पानीको संकट बेहोरिरहेका छन् । नेता विश्वासको संकटमा छन् । यस्तो बेला भएका कर्मचारीले पनि जनतालाई सेवाप्रवाहमा चासो दिएका छैनन् । त्यसैले मधेशमा पानीको मुद्दामा दलहरुको गम्भीरता देखिएको छैन । पानीले जनता काकाकुल भइरहँदा नेताहरु को मुख्यमन्त्री हुने भनेर सत्ताको प्यासले काकाकुल छन् । जनताको संकट टार्ने भन्दा पनि सत्तामा पुग्ने प्यासले मधेशका नेताहरुले एक अर्कामा विश्वासको वातावरणसमेत बनाउन सकिरहेका छैनन् । पार्टीभित्रै पनि दुई धारका आवाज आउन थालेका छन् । जसले सत्ता निर्माणको भोक सबैलाई लागेको छ, तर भोक मेटाउन सक्ने भान्सेको अभाव छ । यस्तो बेला पानीको प्यासमा जनता छट्पटाएको कसले चासो लिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button