
मधेशदृष्टि
वीरगंज ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य संस्था सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । आज (शनिबार) गृह जिल्ला पर्साको वीरगंजमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले नयाँ स्वास्थ्य संस्था थप गर्नेभन्दा पनि भएका स्वास्थ्य संस्था सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । चिकित्सक तथा स्वास्थ्यकर्मी पर्सा, नारायणी अस्पताल, नेश्नल मेडिकल कलेज र वीरगंज महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले जनशक्ति अभावमा स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको बताए ।
स्वास्थ्य क्षेत्रमा देशभर ६३ हजार जनशक्ति आवश्यक भए पनि हाल ३० हजार मात्रै जनशक्ति रहेको भन्दै उनले आफू मन्त्री हुँदा जनशक्ति थप गर्ने पहिलो निणर्य नै गरेको सुनाए । ‘देशभरी (स्वास्थ्य क्षेत्रमा) अहिले ३० हजार जनशक्ति छ, तर थप ३३ हजार जनशक्ति आवश्यक छ । ६३ हजार कर्मचारीको खाँचो छ ।’ उनले अगाडि थपे, ‘३३ हजार जनशक्ति अभाव भएकाले अस्पतालले धेरै सास्ती बेहोर्नु परेको छ । जनशक्ति अभावमा नागरिकको सेवामा कठिनाइ भइरहेको छ । सरकारले नागरिकलाई गुणस्तरीय सेवा दिन सकेको छैन ।’ मन्त्री यादवले देशभरीका स्वास्थ्य संस्थामा जनशक्ति थप्ने आफ्नो पहिलो निणर्यको चौतर्फी प्रसंशा भइरहेकोे सुनाए ।
मन्त्री यादवले यसपटको विनियोजित बजेटमा नारायणी अस्पतालका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै उनले नारायणी अस्पतालका लागि छुट्टै प्याकेजको समेत व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । वीरगंजको नारायणी अस्पताल पर्साको मात्रै नभइ मधेशका सबै जिल्ला र विहारका विभिन्न ठाउँको पनि भएकोले नारायणी अस्पताल सुधारका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
आफू मन्त्री भएको पाँच दिनमा मात्रै भएको र संघदेखि प्रदेश र स्थानीय तहसम्मका अस्पतालको अवस्थाबारे बुझिरहेको उनले बताए । मन्त्री यादवले स्वास्थ्य क्षेत्र सुधारका लागि सात वटै प्रदेशका स्वास्थ्य मन्त्री र स्थानीय तहका प्रमुख, उपप्रमुखसँग पनि छलफल गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । स्वागत तथा सम्मान कार्यक्रममा वीरगंज महानगरका प्रतिनिधि, नारायणी अस्पताल र नेश्नल मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।





