विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नका लागि प्रधानमन्त्री प्रचण्डले संसद सचिवालयलाई जानकारी गराएका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संघीय संसद् सचिवालयलाई पत्र पठाइसकेका छन् ।

सरकारमा सहभागी रहेको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दल विभाजन भएपछि गत वैशाख ३१ गते सरकारबाट बाहिरिएको हो । संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने तयारी थालेका हुन् । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ । यसैगरी उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्न सक्ने भनिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जसपा नेपालबाट विभाजित भएको जनता समाजवादी पार्टीको समर्थन रहेको छ । गत फागुन २१ गते सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला संसदमा उपस्थित २६८ जना सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएका थिए ।

जसमा एमालेको ७६, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । जसपा विभाजन भएपछि जसपा नेपालका ५ जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई बाँकी १५२ जनाको समर्थन कायमै छ । प्रधानमन्त्रीले यति चाँडै विश्वासको मत लिन खोज्नुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने शंकाको दृष्टिकोणले हेरेको छ । संसदको गतिरोध अन्त्यका लागि पहल गर्नुको साटो यही अवस्थामा विश्वासको मत लिन खोज्नु प्रधानमन्त्रीको मनसाय सही नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिक्रिया दिएका छन् ।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button