क्यासिनोका ग्राहकलाई ‘भारतीय परिचय पत्र’ र लागुऔषध

[mashshare]

क्यासिनो नियमावली, २०७० को परिच्छेद ३ मा दफा १८ ले नेपाली नागरिकला क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न निषेध गरेको छ । क्यासिनो नियमावली, २०७० को उपदफा १४ (२) मा नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गराए वा क्यासिनो खेलाए त्यस्ता क्यासिनोको इजाजतपत्र रद्द गर्न सकिने प्रावधान छ ।

मधेशदृष्टि
वीरगंज ।
पछिल्लो समय बारा, पर्साका क्यासिनोहरुले ग्राहकका रुपमा नेपाली नागरिकलाई बर्बाद पारिरहँदा भारतीय परिचय पत्रसमेत उपलब्ध गराउन थालेका छन् । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध कानूनलाई अंगीकार गरेको देखाउन क्यासिनोमा आउने नेपाली ग्राहकका लागि यस्तो सुविधा दिन थालिएको खुलेको हो । वीरगंज र बारा क्यासिनोहरुले आफ्नो जुवाघरमा भारतीय र अन्य नागरिक मात्र आएको देखाउने यस्तो बदमासी गरेर प्रहरी प्रशासनलाई गुमराहमा पार्न खोजेको हो ।

एजेन्टमार्फत कार्ड
क्यासिनोमा आउने अधिकांश ग्राहक नेपाली भएपछि क्यासिनो सञ्चालकहरुले भारतीय नागरिक भएको खुल्ने परिचय पत्र व्यवस्थापन शुरु गरेका हुन् । यसका लागि उनीहरुले एजेन्ट व्यवस्था गरेका छन् । वीरगंजका क्यासिनोमा आउने नेपाली ग्राहकलाई भारतीय नागरिक भएको नक्कली परिचय पत्र व्यवस्था गर्ने काम एजेन्टले गर्ने गरेको एक नेपाली ग्राहकले बताए । बारा, पर्सा, रौतहट, मकवानपुर र चितवनका ग्राहकहरु वीरगंजको क्यासिनामो पुग्ने गरेका छन् । उनीहरुको हुलिया मिल्ने भारतीय नक्कली परिचय पत्र व्यवस्थापनमा एजेन्टहरु नै राखेर प्रहरी प्रशासन छल्ने प्रयासमा क्यासिनो सञ्चालकहरु जुटेका हुन् । एजेन्टले सम्भावित ग्राहकसँग सम्पर्क बढाएर नक्कली भारतीय कागजात बनाएर क्यासिनोमा प्रवेश गराउने जिम्मा लिएका छन् । यसको पछिल्लो प्रमाण चैतमा होटल भिष्वाको क्यासिनोबाट पक्राउ परेका चार नेपाली नागरिक हुन् ।

९० प्रतिशत नेपाली ग्राहक
बाराको होटल इच्छाको स्माइल कलेक्सन, वीरगंज महानगरस्थित क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वाको सेन्ट्रल मिडिया गु्रपको ह्याप्पी आवर क्यासिनोमा अधिकांश जुवाडे नेपाली रहेको पर्सा प्रहरी प्रशासनलाई पनि थाहा नभएको होइन । तर ती क्यासिनोमा ९० प्रतिशत भन्दाबढी ग्राहक नेपाली नागरिक हुँदाहुँदै पनि प्रहरीले किन खोजी गरेको छैन, चासोको विषय बनेको छ । क्यासिनो गएर बर्बाद हुनेहरुमा उद्योगी, व्यवसायी, बैंककर्मी, बीमाकर्मी, सरकारी कर्मचारी, जग्गा कारोबारी, मिटर ब्याजीहरु छन् । हेटौँडाका मात्रै दशौँ घरानाका सदस्यहरु वीरगंजको क्यासिनोमा कम्तीमा १ करोडदेखि १० करोड रुपैयाँसम्म हारेकाहरु छन् । उनीहरुको घरमा क्यासिनोमा हारेको थाहा पाए आत्महत्याको अवस्था बन्ने गरेकाले परिवारका सदस्यलाई कारोबार बिग्रिएको भनेर ढाकछोप गरेर कैयौँ घटना लुकाइरहेको मधेशदृष्टिको सम्पर्कमा आएका छन् । धेरै नेपाली नागरिक लाखौँ तथा करोडौँ रकम जुवामा डुबाएर सडकमा पुगेका छन् ।

केही महिनाअघि भारत, मोतीहारीका एक युवाले किंग्स क्यासिनोमा जुवा खेल्दा विवाहमा आएको दाइजोबापतको २० लाख रुपैयाँ नगदसहित सुनचाँदी, मोटरसाइकलसमेत सबै हारेपछि घर न घाटको बने । अन्तत उनले मोतीहारीको रेल्वे लाइनमा आत्महत्या गरेका थिए । हेटौँडाका पनि थुप्रै क्यासिनोमा हारेर घर न घाटका भएका पात्रहरु मधेशदृष्टिको सम्पर्कमा छन् । उनीहरुले क्यासिनोमा २ लाख रुपैयाँसम्म जिताएको देखाएर त्यसपछिको सबै रकम हार्ने खेल खेलाउने बदमासीबारे पनि बताएका छन् । २ लाख भन्दा बढी रकम राख्नेबित्तिकै हराउने गरी जुवा खेलाउने काम भइरहेको बताएका छन् ।

क्यासिनोमा कुटाकुट
२०८० चैत १८ गते लर्डस दियालेको किंग्स क्यासिनोमा हारजितका कारण कुटाकुट भएको घटना पनि बाहिर आएको थियो । क्यासिनोको लत बसेकाहरुले क्यासिनोमा हार्दा घरपरिवार लथालिंग भएको छ । घरमा वादविवाद, लफडा बढेको छ । बारा र पर्साका पाँच क्यासिनो नेपाली ग्राहकबिना सञ्चालन सम्भव छ र ? अधिकांश ग्राहक नेपाली नागरिक भए पनि किन व्यापारिक घराना, सामाजिक संघसंस्था र प्रहरी प्रशासन यसको विरोध गर्दैनन् ? खोजीको विषय बनेको छ ।

डनहरुको हालिमुहाली
क्यासिनो सञ्चालकहरुले प्रहरी प्रशासनलाई समेत प्रभावमा पारेर सेटिङमा क्यासिनो सञ्चालन गरिरहेका छन् । क्यासिनोका टेबलहरु विभिन्न टोलेडनहरुले अग्रिम बुक गरेर त्यहाँ बस्नेहरुले जुवा हार्दा पैसा आधा टेबल किन्नेहरुलाई दिने गरी सेटिङ हुन थालेको पाइएको छ । यस्तो बढी किग्स क्यासिनोमा हुने गरेको पाइएको छ । प्रतिशत क्यासिनो सञ्चालक र टेबल किन्नेमा बाडिन्छ । यति मात्र होइन, क्यासिनोप्रति आकर्षित गराउँदै फकाइफुल्याइ क्यासिनो पुर्याउने, त्यहाँ रकमको जोहो गरिदिने, चेक लिनेसम्मका सेटिङ हुने गरेको छ । पछिल्लो समय त क्यासिनो सञ्चालकहरुले ग्राहक तान्न लागुऔषध समेत उपलब्ध गराउन थालेको नेपाली ग्राहकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button