चार जिल्लाको सीमा बन्द

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
भारतको बिहार राज्यको मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि भारतसँग जोडिएको मधेश प्रदेशका चार जिल्लाको सीमानाका बन्द हुने भएको छ । आगामी सोमबार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले मतदानभन्दा ७२ घण्टा पहिले सीमानाका बन्द हुन लागेको हो ।

जेठ ४ गते शुक्रबार राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द हुने भएको हो । मधुवनीका डिएम अरविन्द कुमार वर्माले धनुषा, सिरहा, सप्तरी र महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै केही महिना पहिले भारतको मधुवनीमा भएको सीमा जिल्ला समन्वय समितिको बैठक अनुसार चुनावका लागि ७२ घण्टा अगावै बोर्डर बन्द गर्न आग्रह गरेका हुन् ।यसअघि मधुवनीको झन्झारपुर संसदीय क्षेत्रमा मतदान भएको समय समेत ७२ घण्टाको लागि सीमानाका बन्द भएको थियो ।

रेल तीन दिन बन्द
नेपालको एक मात्र रेल सेवा भारतमा भइरहेको चुनावका लागि ३ दिन बन्द हुने भएको छ । भारतको बिहार राज्य जिल्ला मधुवनीको संसदीय क्षेत्रमा आगामी सोमबार मतदान हुने भएकाले शनिबारदेखि रेल बन्द हुने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले सूचना जारी गर्दै शनिबारदेखि सोमबारसम्म ३ दिनको लागि भंगहा–जनकपुरधाम–जयनगर खण्डमा चल्ने रेल्वे बन्द रहने जनाएका हुन् ।

सोमबार मधुवनी संसदीय क्षेत्रमा मतदान हुने भएकाले नेपाल–भारत सीमा ७२ घण्टाको लागि बन्द हुने भएकाले रेल सेवा बन्द रहने र मंगलबारदेखि पुनः आफ्नो समयमा सञ्चालन हुने महाप्रबन्धक झाले जनाएका हुन् । यसअघि मधुवनीकै झंझारपुर संसदीय क्षेत्रमा मतदान भएको समय समेत ३ दिनको लागि रेल सेवा बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button