‘सामाजिक विकृति अन्त्यका लागि व्यक्ति जिम्मेवार’

[mashshare]

महेश कठायत
वीरगंज ।
सामाजिक विकृतिको अन्त्यका लागि हरेक व्यक्ति आफैमा जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सोमबार वीरगंजमा आयोजित ‘समाजका विकृति विसंगति अन्त्य, सम्मुनत समाज निर्माणमा हाम्रो जिम्मेवारी’ विषयक अन्तक्रिया कार्यक्रममा सरोकारवाला निकायहरुले उक्त कुरामा जोड दिएका हुन् । रेडियो नेपाल, टिभी वीरगंज र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आर्दशनगरको संयुक्त आयोजना भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सभ्य र सम्मुनत समाज निर्माणका लागि हरेक व्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसकी प्रध्यापक एवं समाजसेवी डा.सुस्मा तिवारीले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा सुधारका लागि नागरिक खबरदारीको पनि उत्तिकै भूमिका रहेको बताइन् । हरेक क्षेत्रमा मधेश पछाडि पर्नुको कारण स्वमय नागरिकहरु नै दोषी रहेको उनको भनाइ थियो । मानव विकास सुचाङ्कमा मधेशलाई अगाडि ल्याउन सबैभन्दा बढी शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको उनले बताइन् । त्यस्तै, नेकपा एमाले पर्साका सचिव महेश दासले नीति नियम र कानून पहिलेभन्दा राम्रो भए पनि कार्यान्वयनको पाटो कमजोरी रहेको बताए । सामाजिक विकृति अन्त्यका लागि हरेक राजनीतिक दलहरु एकजुट हुनुपर्ने भन्दै उनले त्यसमा अन्य संघ संस्थाहरुको पनि सहयोग आवश्यक रहेको बताए । त्यसैगरी, वीरगंज महानगरपालिकाको सुशासन एवं भौतिक पूर्वाधार समितिको संयोजक प्रदीप चौरसियाले विगतका कमजोरीलाई सच्याएर वीरगंजलाई वैभव वीरगंज बनाउन महानगरपालिकाले सबैसँग हातेमालो गर्दै अघि बढिरहेको बताए । पहिलेको तुलनामा वीरगंज अहिले धेरै परिर्वतन भएको कुरा सबैले स्वीकार गरेको उनको भनाइ थियो ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाले राज्यले निजी क्षेत्रको आत्मबल बढाउने गरी काम गर्नुपर्ने बताए । उद्योगधन्दा राम्रोसँग सञ्चालन हुन नसक्दा कर्मचारी कटौतिको समस्या देखा पर्ने र त्यसले बेरोजगारी सिर्जना गरी समाजमा अन्य अपराधको समेत चुनौती थपिने विषयमा राज्यले समयमै सोच्नुपर्ने उनले बताए । साथै उनले यस पटकको बजेटमा उद्योगीहरुको माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्नका लागि प्रहरीले समुदायस्तरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । पर्सा जिल्लामा वार्षिक करिब पाँच हजार उजुरी पर्ने गरेको र दुई हजार भन्दा बढी मुद्दा दर्ता हुने गरेको उल्लेख गर्दै उनले समाजमा आपराधिक गतिविधि हुन नदिन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । सामाजिक अभियान्ता प्रकाश थारुले सामाजिक विकृति अन्त्यका लागि स्वपरिर्वतन आवश्यक रहेको बताए । आफू परिर्वतन भए मात्रै समाजलाई परिर्वतन गर्न सकिने कुरामा उनले जोड दिए ।

हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरीराय यादवले समाजका अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि विसंगति देखा पर्न गएकोमा चिन्ता व्यक्त गरे । केही समय अघि वीरगंजकै एक क्याम्पसमा कक्षा १२ का विद्यार्थीले चिट चोर्न नदिएको विषयमा भएको विवादको प्रसंगलाई उल्लेख गर्दै उनले यस्ता घटनाहरु हुनु दुःखद भएको बताए । साथै उनले सामाजिक विकृतिको अन्त्यका लागि अन्य सामाजिक संघसंस्थाहरुसँग हरि खेतान क्याम्पसले पनि हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईले युवा विदेशिनु देशको मूल समस्या भएकोले युवालाई स्वदेशमै केही गर्ने वातावण बनाउन सबैको ध्यान जान जरुरी रहेको बताए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले नागरिकहरुमा ट्राफिक नियम पालना सम्बन्धी ज्ञान भएर पनि पालना नगरेकोमा चिन्ता व्यक्त गरे । सडक सुरक्षाको विषय सबैको सरोकारको विषय भएकोले ट्राफिक समस्याका बारेमा प्रहरीलाई मात्र दोषी देख्नु गलत भएको बताए । पछिल्लो समय पर्सामा ट्रार्फिक नियम उल्लघंन गर्ने करिब २१ हजार सवारी साधान कारबाहीमा परेको र साढे दुई करोड रुपैयाँ राजस्व संकलन भएको खतिवडाले जानकारी दिए । कार्यक्रममा वीरगंज सामुदायिक आँखा अस्पतालका सञ्चालक डा.महेशसिंह धामीले समाजका विकृति र विसंगतिलाई हटाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले समाजमा देखा परेका हरेक समस्या समाधानका लागि सरोकारवाला व्यक्ति बढी जिम्मेवार हुनुपर्ने बताए । अरुलाई दोष देखाएर समाज सुधार हुन नसक्ने भन्दै उनले व्यक्ति आफैबाट सुधारको पहल थाल्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले समाजका हरेक क्षेत्रमा अहिले विकृति देखा परेको बताए । स्वास्थ्य, शिक्षा, राजनीति, पत्रकारितालगायतका क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि व्यक्ति आफै इमान्दार हुनुपर्ने उनले बताए । अन्तरक्रिया कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार ध्रुव अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button