किन चाँडै फेरिन्छन् मधेशमा प्रहरी प्रमुखहरु ?

[mashshare]

बिचौलियासँग आर्थिक लेनदेन, तस्करी नियन्त्रणमा राम्रो भूमिका नखेलेको, सर्वसाधारणसँग राम्रो व्यवहार नगरेकोलगायतका उजुरी पटकपटक परेपछि उजुरीका आधारमा छानबिन गरी जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

मधेशदृष्टि
वीरगंज ।
प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका जिल्ला कमाण्डर प्रहरी प्रमुखलाई धमाधम कारबाही अघि बढाएको छ । तर प्रधान कार्यालयले गरेको कारबाहीमा भने धेरैजसो मधेशका जिल्ला प्रमुखहरु पर्ने गरेका छन् । यसको असर मधेशमा प्रमुख भएर आएका प्रहरी प्रमुखहरु कुनै पनि बेला सरुवाको कारबाहीमा परिरहेका छन् ।

पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् । उनीहरुलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्रै सिरहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएका छन् । दुई साताअघि सिन्धुलीका एसपी विनोद शर्मालाई पनि जिम्मेवारीबाट हटाइएको थियो । त्यस्तै, एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका आधारमा कारबाहीस्वरूप हटाइएको थियो । बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधि ज्ञवाली, महोत्तरीका श्यामकुमार राई र धनुषाका मित्रबन्धु शर्माको विषयमा उजुरी बढेपछि उनीहरूलाई हटाइएको थियो ।

उनीहरुविरुद्ध बिचौलियासँग आर्थिक लेनदेन, तस्करी नियन्त्रणमा राम्रो भूमिका नखेलेको, सर्वसाधारणसँग राम्रो व्यवहार नगरेकोलगायतका उजुरी पटकपटक परेपछि उजुरीका आधारमा छानबिन गरी जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयको दाबी छ । यसरी चाँडै जिल्ला प्रमुख खोसिनेमा मधेशका प्रहरी प्रमुखहरु परेपछि मधेशमा आएका नयाँ प्रमुखहरुलाई पनि तनाव र दबाब बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button