
मधेशदृष्टि
वीरगंज ।
बीवाइडी ‘एक्सचेञ्ज क्याम्प’ बाट ८ वटा विद्युतीय गाडी बिक्री भएका छन् । वीरगंजस्थित नगर सभा गृह (टाउन हल) मा शुक्रबारदेखि दुई दिनसम्म सञ्चालन भएको क्याम्पमा ८ वटा गाडी बिक्री भएका हुन् । बीवाइडी गाडीको बारेमा बुझ्ने, पुरानो गाडी ल्याएर एक्सचेञ्ज गर्ने र टेस्ट ड्राइभ गर्नेको भीड लागेको थियो ।
शनिबार सकिएको क्याम्पमा विभिन्न मोडेलका गाडीहरूको टेस्ट ड्राइभ गर्नेदेखि फाइनान्स र इन्सुरेन्स सुविधासमेतका बारेमा ग्राहकहरुले रुचिका साथ जानकारी लिइरहेका थिए । क्याम्पमा ‘अन स्पट’ पूरानो गाडीको मूल्याङ्कन, ८० प्रतिशतसम्मको बैंकिङ सुविधा र इन्सुरेन्सलागयतका बारेमा जानकारी दिन स्टल राखिएको हुँदा गाडी खरिद गर्न इच्छुकहरुको भीड देखिएको थियो ।
विश्वको सर्वोत्कृष्ट विद्युतीय गाडीको ब्रान्डका रूपमा परिचित बीवाइडी प्रति ग्राहकको रुचि चासो र विश्वास अपेक्षा गरेको भन्दा बढी रहेको वीरगंजमा गाडीको आधिकारिक बिक्रेता नीरज अटोमोबाइल्स प्राइवेट लिमिटेडका अध्यक्ष आकाश सर्राफले बताए । उनले वीरगंजमा बीवाइडीको सोरुम निर्माणधीन रहेको जानकारी गराउँदै अबको एक दुई महिनाभित्र सञ्चालनमा आउने बताए । जहाँबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सम्पूण काम हुने उनको भनाई छ । अध्यक्ष सर्राफले भने, ‘बीवाइडी इभी गाडी सन् २०१७ देखि नै नेपालमा आइरहेका छन्, तर २०२३ देखि नयाँ मोडल नेपालमा आएपछि यसप्रति ग्राहकको रुचि झन बढेको छ ।
नेपालभरी १३ स्थानमा यसको सभिर्स सेन्टर भएकोले पनि केही समस्या आइहालेपनि समाधान गर्न सकिन्छ ।’ अहिलेसम्म वीरगंजमा बीवाइडीका गाडी ३५ वटा बिक्री भएको सर्राफ बताउँछन् । बीवाइडीको डल्फिन मोडलको मूल्य ३९ लाख ८८ हजार रुपैयाँ रहेको छ, जुन सबैभन्दा सस्तो हो । बीवाइडीको एटो ३ एडभान्स मोडलको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ भने सोही मोडलको सुपेरियर इभीको ६५ लाख ८८ हजार रुपैयाँ रहेको छ ।






