एमाले सरकारका पालामा तिब्र विकास भयो : मन्त्री

[mashshare]

अनिलकुमार घिमिरे
काठमाडौँ ।
उपप्रधान तथा भौतिक पूर्वाधार यातायात मन्त्री राघुबिर महासेठले स्व. प्रधानमन्त्री मनमोहन अधिकारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोश्रो पटकको कार्यकालमा नेपालमा जति विकास भयो त्यति विकास कहिले नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेकपा एमाले धनुषा काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलनलाई सम्बोधन गर्दै महोठले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्री स्व.अधिकारीको नौ महिने कार्यकालमा बृद्ध बृद्धालाई सामाजिक सुरक्षा भत्ताको थालनी गर्नुको साथै देश र जनताको विकासका लागि शिक्षा, स्वास्थ, सडक, सिचाई सहित नौ ‘स’ कार्यक्रम अघि सारिएको बताउँदै मन्त्री महाशेठले पूर्व प्रधानमन्त्री ओलीको दोश्रो ४२ महिने कार्यकालमा मधेशको लाइफलाईन मानिने हुलाकी राजमार्ग, काठमडौँ तराई द्रुत राजमार्ग, रेल्वे विस्तार, तराईमा बाह्रै महिना खेती र कृषि उत्पादनका लागि सुनकोशी–मरिण डाइभर्सन लगायत दर्जनौँ राष्ट्रिय गौरवका आयोजनाहरूको थालनी भएको बताए ।

‘२७० वर्षको इतिहासमा जब मुलकको नाम नेपाल भयो त्यो बेलादेखि २०७४ साल फागुन २२ गतेसम्म नेपालमा पौने सात हजार किमि सडक मात्र थियो तर, जब केपी ओलिको नेतृत्वमा नेकपा एमाले फागुन २३ गते सरकारमा गएपछि सडकको सञ्जाल मुलकमा विछ्याइयो’ उनले भने, ‘पूर्व प्रधानमन्त्री ओलीले त्यसबेलासमा ४२ महिनामा ५४९८ किमि सडक निर्माण गरे ।’

मन्त्री महासेठले भने, ‘विगतमा केपी ओलीको नेतृत्वमा सरकार हुदा आर्थिक वृद्धि दरमा विश्वका १० उत्कृष्ठ मूलकहरूको सूचिमा नेपाल पनि परेको थियो । त्यो बेला ७.१ प्रतिशत आर्थिक वृद्धि दर थियो भने त्यो झरेर अहिले हामी सरकारमा आउनु दुई महिना अघि २.७ प्रतिशत थियो । अहिले हामी सरकारमा आएको दुई महिना नबित्दै आर्थिक बृद्धिदर ३.२० प्रतिशत पुगेको छ ।’ विकास निर्माणका कामले गती लिएको छ ।’ नेकपा एमालेका अध्यक्ष ओलीको निर्देशन र सल्लाहमा एमालेले पहिले नै ल्याएको तराई मधेशको समृद्धिका लागि ‘तराई मधेश विशेष पूर्वाधार विकास कार्यक्रम’ र हिमाल र पहाडको विकासका लागि ‘सडक पूर्वाधार विकास कार्यक्रम’लाई पुनः अघि बढाइने प्रतिबद्धता पनि मन्त्री महाशेठले व्यक्त गरे । देश र जनताको विकास र समृद्धिका कार्यक्रमहरुमा कसैले पनि राजनीती गर्न नहुने भन्दै मन्त्री महासेठले भने, ‘पूर्ववर्ती सरकारहरूले गरेका राम्रा काममा हामी पनि राजनीति गर्दैनौ र देश र जनताको समृद्धिका लागि हामीले गरेका विकासका काममा पनि कसैले राजनीति नगरुन ।’

कार्यक्रममा नेकपा एमालेकी नेतृ तथा सांसद जुली कुमारी महतोले नेकपा एमाले जस्तो लोकप्रिय पार्टी अरु नभएको दाबी गरिन् । पूर्वमन्त्री समेत रहेकी नेतृ महतोले एमाले शोषित, गरिब, दलित, महिला, सिमान्तकृत, पछाडि परेका वर्ग, युवालगायत तमाम वर्गको पार्टी भएकोले नै एमाले लोकप्रिय पार्टी रहेको बताइन् । एमाले राष्ट्रवादी पार्टी भएकाले एमाले सरकारमा आउँदा जनतामा उत्साह र खुसी छाउने गरेको जिकिर गरिन् । नेकपा एमाले धनुषा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष सरोज पूबैको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव, मधेश प्रदेश सम्पर्क समितिका अध्यक्ष प्रविणकुमार यादव, धनुषा काठमाडौँ सम्पर्क मञ्चका सदस्य युवराज बोहोरालगायत वक्ताहरुले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button