केएफसी र पिज्जा हट वीरगंजमा

[mashshare]

महेश कठायत
वीरगंज ।
औद्योगिक तथा व्यापारिक शहर वीरगंजमा विश्व प्रख्यात ‘फास्ट फुड’ केएफसी र पिज्जा हट सञ्चालनमा आएको छ । पिज्जा र चिकेनप्रेमीका लागि देवयानी इन्टरनेश्नल नेपाल प्रालिले पहिलो पटक वीरगंजमा केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको हो । वीरगंजको आदर्शनगरस्थित स्काइलाइन मलमा गत सोमबारदेखि केएफसी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । वीरगंजमा सञ्चालनमा आएको केएफसी नेपालको १८औँ र पिज्जा हट छटौँ शाखा भएको केएफसीकी सेल्स एण्ड मार्केट्रिङ म्यानेजर निती बस्नेतले जानकारी दिइन् । उनका अनुसार वीरगंजमा सञ्चालनमा आएको केएफसी र पिजा हट मधेश प्रदेशकै पहिलो हो ।

स्काइलाइन मलमा अवस्थित उक्त रेस्टुरेन्टले गुणस्तरमा विशेष ध्यान दिदै स्वादमा सम्झौता नगर्ने जनाएको छ । हट एन्ड क्रिस्पी चिकेनदेखि स्वादिष्ट चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, चिकेन रोल, जिङ्गर बर्गर लगायत केएफसी बकेट समेत उपलब्ध छ । त्यस्तै, पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ट पास्ताका साथै प्रसिद्ध पिज्जाहरू उपलब्ध गराउने जनाएको छ । यसका साथै विभिन्न भेज आइटम पनि उपलब्ध रहेको छ । करिब २१ सय स्क्वायर फीटमा फैलिएको उक्त रेस्टुरेन्टमा एकसाथ ४४ जनासम्म अटाउन सक्ने क्षमता रहेको छ । मार्केट्रिङ म्यानेजर बस्नेतले ग्राहकको सन्तुष्टीलाई ध्यान दिएर उपलब्ध विभिन्न आइटमको गुणस्तरमा विशेष ध्यान दिइने बताइन् । वीरगंजमा केएफसी सञ्चालनमा आएको केही दिनमा नै ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको भन्दै उनले आगामी दिनहरुमा पनि ग्राहकको साथ र सहयोग पाइरहने विश्वास व्यक्त गरिन् ।

केएफसी र पिज्जा हट खानपिनको क्षेत्रका लोकप्रिय नाम हुन् । नेपालमा यी रेस्टुरेन्ट सञ्चालनका लागि देवयानी इन्टरनेश्नल नेपाल इजाजतपत्र प्राप्त फ्रान्चाइजी हो । यसअघि गत काक्तिक महिनामा देवयानी इन्टरनेश्नल नेपालले कोशी प्रदेशको पहिलो केएफसी र पिज्जा हट विराटनगरमा समेत सञ्चालनमा ल्याइसकेको छ । काठमाडौँमा मात्रै विभिन्न दश स्थानमा केएफसी सञ्चालनमा रहेको छ ।

केएफसी (केन्टकी फ्राइड चिकेन) अमेरिकी रेस्टुरेन्ट ब्राण्ड हो । सन् १९५२ मा स्यानडविद, सलाद आदिमा प्रयोग गर्न मिल्ने गरी कुखुराको मासुका टुक्रा बिक्री गर्दै यसको स्थापना भएको थियो । यसले विश्वका करिब १ सय ५० देशमा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ । पिज्जा हट पनि अमेरिकी ब्राण्ड हो, जुन विश्वको सबैभन्दा धेरै शाखा भएको पिज्जा रेस्टुरेन्टका रुपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button