
एसपी गौरव
सर्लाही ।
सर्लाहीका विभिन्न स्थानबाट अवैध तरीकाले गाईगोरु तस्करी हुने गरेको पाइएको छ । बरहथवा, बयलबास र नवलपुरलगायतका क्षेत्रका विभिन्न स्थानबाट गाईगोरु अवैध तस्करी तथा व्यापार हुने गरेको पाइएको हो । तस्करले सर्लाहीसहित, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा र खोटाङलगायतका जिल्लाका ग्रामीण वस्तीबाट ल्याइएका बूढादेखि कलिला गाईगोरु सर्लाहीलाई ट्रान्जिट प्वाइन्ट बनाएर भारतीय बजारमा पु¥याउने गरेको पाइएको हो ।
अवैध गाईगोरु तस्करी जिल्लाको मुख्य समस्या नै हो । जिल्लाका सुरक्षा संयन्त्रले यस समस्याबारे जानकारी लिए पनि नियन्त्रणमा कुनै चासो नदेखाएको नागरिक समाजको भनाइ छ । दैनिक रातको समयमा पूर्वपश्चिम लोकमार्ग हुँदै अवैध गाईगोरु भारत तथा बंगलादेशसम्म पुग्ने गरेको पाइएको छ ।
जिल्ला हुँदै दिनहुँ प्रहरीकै अगाडिबाट भारतमा गाईगोरु तस्करी भइरहे पनि उनीहरु मूकदर्शक बनेको स्थानीयको आरोप छ । ‘ग्रामीण भेगबाट गाईगोरु गाडीका गाडी ओसारपसार हुन्छ, प्रहरीले पनि केही गर्दैन, गाईगोरु तस्करी रोकिएको छैन, गाउँगाउँमा पुगेर गाईगोरु दुई हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँमा खरिद गर्ने गरेका छन्,’ एक स्थानीयले बताए । खरिद गरेको गाईगोरु सर्लाहीका विभिन्न स्थानमा रहेका विभिन्न प्रहरी चेक पोष्ट हुँदै जिल्लाकै सीमा तथा महोत्तरी र पूर्व काँकडभित्ता हुँदै भारत तथा बंगलादेश पु¥याउने गरेका पाइएको हो । भारत तथा बंगलादेशमा गाईगोरु ५० देखि ६० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको एक व्यापारीले बताए । सर्लाहीबाट दिनहुँजसो गाईगोरु ओसारपसार हुने गरेको स्थानीय व्यवसायीले स्वीकार गरे । विभिन्न ग्रामीण क्षेत्रबाट बिनारोकतोक ट्रकमा राखेर दर्जनौँ गाईगोरु निकासी हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
गलत प्रयोजनका लागि लगे पनि उनीहरुले कागजात भने दुरुस्त बनाउने गरेको भेटिएको छ । जिल्लाका विभिन्न स्थानमा गाई तथा गोरु संकलन गरी काँकडभित्तासम्मका लागि कागजपत्र बनाएर लैजाने गरेको व्यवसायी बताउँछन् । गोरुका लागि पैसा तिरे पनि गाउँलेले गाई सित्तैमा भिडाइदिने गरेको उनीहरुको भनाई छ । जोत्ने बहानामा लगे पनि गाईगोरु कहाँ पु¥याइन्छ भन्नेबारे व्यवसायीसँग प्रष्ट जवाफ छैन ।
नेपालमा गोबध प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ । संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन । त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ । गाई वा गोरुलाई कुटेर अंगभंग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कानुनले पशुपक्षीलाई कुटेर, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्य भन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न दिँदैन । त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
पशु ढुवानी मापदण्ड,२०६४ ले चौपाया ढुवानी गर्दा के गर्नुहुन्छ के गर्नुहुँदैन त्यो उल्लेख गरेको छ । ढुवानी गर्दा पशुलाई कुनै किसिमको पीडा हुनु नहुने र हुने अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था मापदण्डले गरेको छ । मापदण्डले ढुवानी गर्दा पशुलाई गाडीमा अस्वाभाविक रूपमा शरीर, नाकेडोरी, पुच्छर वा खुट्टा बाँध्न नहुने तथा कोचेर राख्न नहुने स्पष्टरूपमा खुलाइएको छ । आन्तरिक ओसारपसार गरिने पशुको स्वास्थ्य जाँचको प्रमाणपत्र हुनुपर्ने, आकस्मिक उपचारका लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनुपर्ने, प्रत्येक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा संख्याको विवरण प्रष्ट देखिने गरी टाँसिएको हुनुपर्ने, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय, पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था छ । पशु चौपायालाई आवश्यक पर्ने खानापानीको व्यवस्था गरेको हुनुपर्ने छ, तर गाडीमा चौपायालाई निर्दयी तरिकाले ल्याइने गरिएको प्रहरीको भनाइ छ ।






