मातालाई सम्मान गर्ने संस्कृति

[mashshare]
– सञ्जय साह मित्र

जन्म दिनेलाई माता भनिन्छ । अर्थात् त्यो जो कुनै सन्तानलाई जन्म दिन्छ त्यहीँ माता हो । माता हुनको लागि तिनको सन्तान हुनु जरुरी छ परम्परागत अर्थमा । जन्म दिने, सबैबाट रक्षा गर्ने तथा सबै किसिमको त्याग गर्न सक्ने जननी नै माता हो । यसकारण माताको महिमा सबैभन्दा ठुलो मानिएको छ ।

माता सामान्यतया महिला नै हुन्छ । यसैले जन्म दिने स्त्री वा जननी वा आमा आदि नामले यसलाई सम्बोधन गरिन्छ । साथै, कुनै पूज्य वा आदरणीय आफूभन्दा धेरै उमेरकी महिलाको लागि प्रेम वा सम्मानको सम्बोधन पनि हो पनि माता शब्द । हाम्रो संस्कृतिमा गाईलाई पनि माता मानिएको पाइन्छ । यसै गरी आकाश, भूमि, खेती र अन्य जीवलाई पनि माता भनिएको पाइएको छ । यसबाट माता हुनको लागि एउटा ठुलो सम्मान प्राप्त गर्नु हो भन्ने पनि स्पष्ट हुन आउँछ ।

भनिन्छ, माता अपरिभाषेय छ अर्थात् मातालाई कुनै परिभाषामा बाँध्न सकिन्न । सबै परिभाषा र सबै भावना तथा भावभन्दा माथि आमा अर्थात् माता हुन्छ । यसैले यदि कसैलाई वा केहीलाई महान् शब्दले सम्बोधन गर्नुप¥यो भने माताको संज्ञा दिइन्छ । यही कारण कुनै महान् वा शक्तिशाली देवीलाई तिनको नामको अगाडि वा पछाडि माता शब्दको प्रयोग गरिन्छ । यसैले हामीले हाम्रो संस्कृतिमा मान्ने मुख्य देवीहरुको नामसँगै माता शब्द जोडिएको हुन्छ । माताको महिमा महान् भएकैले सबैभन्दा सहनशीलको सन्दर्भमा धरतीलाई पनि माता भनिएको पाइन्छ ।

हाम्रो संस्कृतिमा मातृशक्तिको महानता मानिएकोले हाम्रो संस्कृतिलाई महान् मानिएको छ । मातासित सम्बन्धित विभिन्न धार्मिक उत्सव तथा विभिन्न मेलाहरु लाग्ने गर्दछन् । मातासित सम्बन्धित विभिन्न धार्मिक स्थलहरुको निर्माण गरिुएको छ । विश्वका विभिन्न शक्तिपीठहरुमा माता स्वरुपकै पूजा हुने गर्दछ । हाम्रा धेरै चाडपर्वहरुमा माता मानेर प्रसिद्ध देवीहरुको पूजा हुनुमा पनि माताको स्वरुप झल्किन्छ । अनि माताको लागि विशिष्ट दिन पनि हाम्रो संस्कृतिले राखेको छ ।

मातासित जोडिएको विशिष्ट दिन हो मातातीर्थ औँसी । बैसाख महिनाको कृष्ण पक्षको अन्तिम दिन अर्थात् तिथिले पन्ध्रौँ तिथिलाई मातातीर्थ औँसी भनिएको हो । यस दिनलाई नेपाली संस्कृतिमा आमाको मुख हेर्ने दिन पनि भनिएको पाइन्छ । कतिपयले आमाखाने औँसी पनि भन्दा रहेछन् अर्थात् आमालाई सम्भव भएसम्म मिठो खानेकुरा खुवाउने वा आमालाई सम्मन गर्ने दिनको रुपमा यस दिनलाई लिइएको पाइन्छ । यस दिनले आमाको सम्मान गर्ने संस्कृतिलाई अझ विस्तार गरेको छ । आमालाई सम्मान गर्ने तरिका पृथक हुन सक्ला तर आमाको सम्मानको सन्दर्भ भने हार्दिक हुनुपर्छ । जन्म दिनेलाई हार्दिक सम्मान गर्नुपर्दछ भन्ने संस्कृतिलाई विस्तार गर्दै घरभन्दा टाढा रहेका वा आमासँगै बस्न नपाएकाले पनि कम्तीमा यस दिन आमासित भेटेर तिनका दुःखसुखका कुरा सुनेर सम्भव भएसम्म समाधान गर्नुपर्ने संस्कृतिको द्योतको रुपमा आमाखाने औँसी रहेको छ ।

हुन त सबै जीवमा आमालाई सम्मान गर्ने संस्कृति हुनुपर्छ । के देखिन्छ भने सबै जीवमा आमाले सन्तानलाई असाध्यै माया गर्छिन् । आमाले जन्माउने र पालनपोषण गर्नुका साथै विभिन्न किसिमले रक्षा गर्ने काम पनि आमाले गरेको पाइन्छ । जीवनदात्री माताले नै सन्तानलाई उत्तम र चरम सुरक्षा तथा सुख प्रदान गर्न सक्ने हुनाले हाम्रो संस्कृतिले भनेको छ – माता कुमाता कहिल्यै हुन सक्दैन । बरु पुत्र कुपुत्र हुन सक्ला तर माता कुमाता हुन सक्ने कुराको कल्पना पनि गरिएको पाइन्न । यो हिन्दू संस्कृतिमा मात्र नभएर सम्पूर्ण मानव संस्कृतिमै देखिएको यक्ष सत्य हो । मानव र अझ सबै जीवजन्तुमा माताले सन्तानको लागि गर्ने गरेको त्याग तथा निस्वार्थ सेवाले मातालाई सर्बत्र र सर्वयुगमा महान बनाएको हो । हो, आधुनिक युगमा माताको महत्वलाई कतिपय सन्तानले बिर्सेको पाइन्छ तर माताले आफ्नो सन्तानलाई कहिल्यै बिर्सने कल्पनासम्म गर्न सकिन्न ।

माताप्रतिको सम्मान समाजमा पृथक रुपमा पनि रहेको छ । माता हुनुलाई गर्व र गरिमाको रुपमा पनि समाजमा लिइएको पाइन्छ । यसको ज्वलन्त उदाहरण यसरी मान्न सकिन्छ । यदि कुनै युवतीको मानौँ पच्चीस वर्षको उमेरसम्म विवाह भएको छैन भने उनलाई सितिमिति कसैले केही भन्दैन तर यदि बिस वर्षको उमेरमा विवाह भएको छ र पच्चीस वर्षको उमेरसम्म आमा बनेकी छैनन् भने तिनलाई धेरैले कहिले आमा बन्ने, किन आमा नबनेको वा आमा बन्नमा के कस्तो समस्या रहेको छ ? आदि किसिमका प्रश्नहरु सोध्न सुरु गर्छन् । जुनसुकै उमेरमा विवाह गरेको भए पनि यदि दश वर्षसम्म आमा नबनेको, बन्न नपाएको वा बन्न नसकेको विवाहिता छन् भने तिनलाई सबैले प्रश्न गर्नुका साथै कतै आमा बन्न नपाउने हो कि भन्ने शंकाको दृष्टिले हेर्न थाल्दछन् । अझ कतिपयले त सल्लाह पनि दिन थाल्दछन् कि आजभोलि आमा बन्नको लागि गाह्रो छैन । विज्ञान र प्रविधिले धेरै विकास गरिसकेको छ । अस्पतालमा गएर आमा बन्नको लागि कुनै कमजोरी छ कि भन्ने कुरा जाँच गराउनु उचित हुन्छ वा जानकारी छ भने अहिले चलेको वैज्ञानिक तरिका अपनाएर आमा बन्न सकिन्छ । अथवा, कुनै कारण आमा बन्न नसकेको तर विवाह भएको करिब दश वर्ष बितिसकेको छ भने यस प्रकारको महिलाको मनमा पनि आमा बन्न ढिलो भइसकेको भनेर लाग्दोरहेछ ।

यदि कुनै जोडीको विवाह भएको एक वर्षमा नै सन्तान जन्म लिन्छ भने त्यस्तो जोडीको घर र माइत दुवैतिर अलग्गै खुसी हुन्छ । साँच्चि कतिपय अवस्थामा आफ्नो खुसी वा रहर नभए पनि आमा बुबाको खुसीको लागि वा तिनीहरुको रहर पूरा गर्न पनि आमा बन्नु पर्ने रहेछ । समाजको इच्छा वा प्रचलन वा संस्कृतिलाई मान्न पनि आमा बन्नु उचित मानिँदो रहेछ । यही दृष्टिकोणले अहिले पनि सामाजिक परिस्थिति यस्तो छ कि आमा बन्नु गौरव र गरिमाको पक्ष कहलिन पुग्छ । आमा बन्नुलाई भाग्यको प्रतीक मान्ने गरिन्छ ।

हरेक समाज र संस्कृतिमा मातालाई सम्मान गर्ने प्रचलन हुनुपर्छ । मेरो संस्कृतिमा मातालाई सर्वदा सर्वोच्च स्थान दिइएको छ । यसकारण सानोतिनो गाउँ भए पनि जहाँ मेरो संस्कृतिको विस्तार छ, सबै ठाउँमा अन्य देवदेवीको भन्दा अति र अनिवार्य रुपमा माई वा भगवती वा यस्तै नाममा एउटा मन्दिर वा गहबर अवश्य रहेको छ । मेरो संस्कृतिमा माताबिना कुनै काम नहुने कल्पना गरिएको छ । कुनै महान् यज्ञ हुँदा पति र पत्नी बस्नुको अर्थ हो घरको अभिभावकको नेतृत्व हुनु जसमा महिला र पुरुष अर्थात् माता र पिता दुवैको सम्मान छ । माताको पूजा बिना कुनै पूजा सम्भव हुँदैन, सम्पन्न हुँदैन । मातृ संस्कृतिकै बाहुल्य छ । साँच्चिकै यदि संस्कृतिको अन्तर्य विचार गर्ने हो भने महिला अर्थात् माताबिना कुनै संस्कृति र संस्कार सम्पन्न हुन्छ ? यदि कसैले आफ्नो वीरता बखान गर्दछ भने त्यस वीरताको गाथामा माताको योगदान कति छ भनेर प्रश्न गर्ने हो भने माताको बारेमा नकारात्मक भाव कहिल्यै कसैको मनमा आउँदैन । यदि आउँछ भने त्यो मेरो संस्कृतिको सुसंस्कृत वीर चाहिँ होइन किनभने हरेक माताको त्याग र शुभेच्छाले नै हरेक मानिस आफ्नो क्षेत्रको वीर बन्न पुगेको हुन्छ । माताको आशीर्वाद नै सन्तानको लागि काफी हुन्छ । यसैले यो भन्ने गरिन्छ कि माता जहिले पनि कुनै भगवान् वा ईश्वरसित तुलना गर्न योग्य हुन्छिन् । माता आफैँमा महान हुन्छिन् ।

जहाँ ममत्व तथा प्रेम र त्यागको उच्च समर्पणको महत्व बखान हुन्छ त्यहाँ माताको स्थान सर्वोच्च हुन जान्छ । यस परिवेशमा कसैले जिउँदो देवीको साक्षात स्वरुपको चर्चा गर्दछ भने त्यहाँ केवल माताको स्थान सर्वप्रथम हुन आउँछ । माताप्रति अर्पण गरिने भावले कहिल्यै पूर्णता किन पाएको हुँदैन भने माताको प्रेम सन्तानको लागि कहिल्यै पूरा भएको हुँदैन । सन्तान जुनसुकै ठुलो पदमा पुगोस्, अरुको नजरमा जस्तो सुकै महान् बनोस् तर जब माताको अगाडि पुग्दछ वा जब माता अगाडि आउँछिन् तब सन्तान स्वतः त्यहाँ सानो भइहाल्छ । अझ माताको चरणस्पर्श गर्दा, कुनै ठुलो मानिस अझ आफूलाई ठुलो भएको महसुस हुन्छ । माताबाट निरन्तर आशीर्वादको अपेक्षा सन्तानले गरिरहेको हुन्छ । सन्तानको लागि माताको हात आशीर्वादको लागि जहिले पनि उठिरहेको हुन्छ अर्थात् माताको आशीर्वादको हात र साथले सन्तान धन्य भइरहेको हुन्छ ।

अरु दिन जे जस्तो व्यस्तता भए पनि आजको दिन माताको दर्शन गरौँ । सम्भव हुन्छ भने माताको दुःख र सुखको कुरा सुनौँ । आज आमाखाने औँसी भनेर मुख्यतः पहाडी समुदायमा चलेको दिन हो तर मधेशी समुदायले पनि यसलाई सोहीअनुसार विस्तारै लिन थालेको छ । संस्कृति र धर्म बुझ्नेले पनि विस्तारै यसलाई आत्मसात गर्दै लगेको छ । यस अर्थमा यस दिन आमालाई मन पर्ने वा आमाको स्वास्थ्यको अनुकूल कुनै सामग्री हुन्छ भने त्यो लगिदिऔँ । सन्तानलाई देख्नासाथ खुसी हुने आमा अझ विशेष दिन बनाइदिँदा आमाको मनमा दोहोरो खुसी हुनु स्वाभाविक हो । माताको चरणस्पर्श गरी माताको अनुहारमा उज्यालो ल्याउने काम गरौँ । आजको दिनलाई माता दिवसको रुपमा मनाउँदा केवल हामीले मात्र मानिरहेका छैनौँ, यस किसिमको संस्कृतिको हस्तान्तरण पनि गरिरहेका छौँ । सकारात्मक संस्कृतिको विस्तार गरिरहेका छौँ जुन अहिलेको आवश्यकता पनि हो । माताको सम्मानमा एक दिन माता सम्मानमय बनाऔँ ताकि हाम्रो संस्कृतिको मातृ महत्ता विश्वले पनि बुझोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button