
मधेशदृष्टि
रौतहट ।
आम जनता पार्टी (आजपा)ले विद्यार्थीको अनुपातमा तहगत र विषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको छ । आजपाले सोमबार रौतहटसहित चार जिल्लामा प्रदर्शन गरेको हो । आजपा जिल्ला कमिटी रौतहटले सोमवार जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालय गौर, सर्लाही जिल्लामा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मलंगवा, महोत्तरी जिल्लाको जलेश्वरमा महासचीव त्रिभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, सप्तरीमा पार्टीका उपाअध्यक्ष उपेन्द्र साह जिल्ला प्रशासन कार्यालय राजविराजमा संघीय र प्रदेश सरकारलाई ध्यान आकर्षण सहित ज्ञापनपत्र बुझाएको छ । आइतबार बारा र पर्सामा समेत ज्ञापनपत्र बुझाइसकेका छन् ।
शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग आजपाको रहेको आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले बताए । आजपा उपाध्यक्ष पूर्व सांसद समिना हुसैन, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, आम सांस्कृति महासंघका इन्चार्ज मेयर प्रत्यासी बिजय यादव निर्विज, आम विधार्थी मोर्चाका अध्यक्ष विवेक साह, आईटी आर्मीको महासचिव नरेश तुरहा लगायत सयौं नेताकार्यकर्ताहरुले गौरमा र्यालीसहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन गर, एउटै कक्षाकोठामा सयौं विद्यार्थी राख्न पाइदैन, विद्यार्थीको भबिष्यसंग खेलवाड गर्न पाइदैन, तहगत र बिषयगत अपुग शिक्षकको पूरा गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, विभेदकारी शिक्षकको दरबन्दी बितरण खारेज गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, आम जनता पार्टी जिन्दावाद लगायतका नारा प्रदर्शनकारीले लगाएका थिए । यस अघि गत साता रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेश प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र बिषयगत शिक्षक दरबन्दी पुर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
४० देखी ५० विधार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० विद्यार्थी बराबर एक शिक्षक रहेको र हजारौं विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्षसहित बैठकले मधेशको प्रत्येक जिल्लामा संघर्षका कार्यक्रम अगाडी बढाउने निष्कर्ष निकालेको थियो । मधेशका अधिकांश विद्यालयमा १०० देखी ३०० सयसम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पुर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक बर्ष बृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसँगै अपुग हुने शिक्षक दरबन्दी बैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पुर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।






