मधेशमा जसपा एक ढिक्का

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि बसेको मधेश प्रदेश संसदीय दलको बैठकमा दुई प्रदेश सभा सदस्यबाहेक सबै उपस्थित भएका छन् । उनीहरुले पार्टी संस्थापन पक्षमा ऐक्यवद्धता जनाए । बैठकले केही व्यक्तिले गरेको पार्टी विभाजनको निन्दा गरेको प्रदेश सभा सदस्य रामअशिष यादवले जानकारी दिए । उनले बैठकमा अनुपस्थित प्रदेश सभा सदस्यसमेत निजी काममा व्यस्त रहेकाले बैठकमा नआएको जानकारी दिँदै सबै सम्पर्कमै रहेको जानकारी दिए ।

बैठकमा सिरहाबाट समानुपातिक प्रदेश सभा सदस्य शाहिदा खातुन र बारा क्षेत्र नम्बर २ कबाट निर्वाचित प्रदेश सभा सदस्य शारदा शंकर तथा सरोज सिंह कुशवाहा अनुपस्थित थिए । कुशवाहाले आफू अत्यन्त जरुरी काममा बाहिर रहेको बताए । बैठकमा उपस्थित हुन नसके पनि छलफलको विषयमा फोनमा आफ्नो मत राखेको प्रतिक्रिया दिए । अनुपस्थित सबै पार्टीको सम्पर्कमा रहेको यादवले जानकारी दिए । यादवले भने, ‘मधेश प्रदेशमा पार्टी विभाजनको असर छैन, सबैको विश्वास उपेन्द्र यादवमाथि छ ।’ त्यसैगरी बैठकले प्रदेश सभामा देखिएको गतिरोध हटाउन संवादलाई अगाडि बढाउने निर्णय गरेको छ ।

जनमत पार्टीले कृषि विश्वविद्यालयको भवन शिलान्यासमा प्रहरीले गरेको हस्तक्षेपको संसदीय छानबिन समिति गठन र मुख्यमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ । प्रदेश सभाको गतिरोध हटाउन सबै पार्टीसँग संवाद अगाडि बढाउने निर्णय भएको यादवले जानकारी दिए । मधेश प्रदेशमा जसपाको १९ प्रदेश सभा सदस्य छन् ।

बैठकमा सहभागी प्रदेश सभा सदस्य एवम् पार्टी प्रवक्ता मनिष सुमनले पार्टी विभाजनको असर मधेशमा नदेखिएको बताउँदै पार्टीमा देखिएको विषयमा अध्यक्ष फर्किएपछि बैठक गरेर पार्टीले अधिकारिक धारणा राख्ने बताए । उनले पार्टीका नेतालाई काठमाडौ बोलाइएको र छलफलपछि र किन कसले पार्टी विभाजन गराउन षड्यन्त्र गरेको भन्ने विषयमा धारणा सार्वजनिक गरिने बताए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर हिजो मात्रै अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेको छ । अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपाका राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खातुनले पार्टी छाडेका छन् ।

‘उपेन्द्रकै साथ छु’
वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू जसपा नेपाल विभाजित भएर अशोक राई नेतृत्वमा गठन गरिएको नयाँ पार्टीमा नरहेको प्रष्ट पारेका छन् । अशोक राई नेतृत्वमा जसपा विभाजित भएर निर्वाचन आयोगमा बुझाइएको कार्य समितिमा कार्कीलाई सचिवको जिम्मेवारी दिइएको छ । तर उनले आफू पार्टी विभाजनका पक्षमा नरहेको प्रष्ट गर्दै अन्यत्र चर्चा भए झैँ कुनै गुट वा दलसँग आवद्धता नरहेको र जसपा संस्थापन पक्षमै रहेको बताए । कार्की धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । वनमन्त्री रहेका नवलकिशोर साह नयाँ पार्टीमा लागेपछि कार्कीसमेत उतै गएको र नयाँ पार्टीमा पदाधिकारी नै रहेको राई नेतृत्वको पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button