सम्पत्ति शुद्धिकरण ककसको गर्ने ?

[mashshare]
जो आज्ञा –रामकुमार एलन

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको सम्पत्ति धेरै भयो भन्दै अख्तियारमा मुद्दा दायर भएको छ । उनले मेयर भएपछि पाँच करोड जति बढी सम्पत्ति कसरी जोडे, स्रोत खुलेन भनिएको छ । यो मुद्दाले भरत थापालाई राजनीतिक क्षति हुनेछ तर बागमतीको विकास रोकिने छ । ६५ बिघा बगर ४५ फिट खनेर बालुवा वितरणसँगै बागमतीको पानी हुलेर ताल बनाइएको हो । जनताले भरतताल भने पनि कागजी र अभिलेखी हिसाबले तालको नाम भरतताल होइन, बागमती मनोरञ्जन ताल, माछा पोखरी अनेक नाम छन् । तर जनता सम्झन्छन्, भरतताल । भ्रष्टाचारको मुद्दा लागेका व्यक्तिको पक्षपोषण गरेको भनेर नउडाउनु होला । मेरो भरत थापासँग चिनजान भेटघाट, फेसबुकमा साथी पनि छैन । यति भनेपछि ह्वाट्स एपमा पनि कुरा हुँदैन भनिरहन नपर्ला ।

म कम कुरा गर्नेभित्र पर्छु । जोसँग कुरा गर्छु या त दोस्ती हुन्छ, या त दुश्मनी । आफ्नो भन्दा बढी अरुका लागि कुरा गर्ने भएकाले मेरो दोस्ती कम दुश्मनी बढी हुन्छ । दुश्मनी त्यस्तासँग भइरहेको छ, जसले ‘सिस्टम’मा भाइरस हालेर, ह्याङ पारेर, नीतिगत, कागजीरुपमा चिरीच्याट्ट पार्दै राज्यधनमा तर मारेका छन् । जसको मिसन नै कमिसन छ, त्यो कम्युनिष्ट, देशभक्त, राजावादी सबैको विरोध गरिन्छ । एउटै कित्तामा उनीहरुलाई भन्ने गरेको छु, ‘सबका सब मिना बजारका उत्पादन हुन् ‘क’ थपेर ।’ किनभने पैसा आउँछ, नाफा हुन्छ भन्ने थाहा भएका दिनदेखि यिनले आमासँग पैसा मागेर भाइलाई पनि मिटर ब्याजमा लगाएका छन् । मन्दिरमा एकाध घण्टामा नाम होला, पहिरनमा सफेद लवेदा सुरुवाल र निधारका चन्दन घोटेर कालो पाटो छोपेका हुन् । कुन हो हिन्दी फिल्ममा ओम पुरीको एउटा डाइलग छ, ‘सेतो धोती लगाउने सबै महात्मा गान्धी होइनन् ।’

दुई दिनअघि वीरगंजका पत्रकार भूषण यादवले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘करिब साढे ३ दशकअगाडि पहाडबाट झरेको युवा, जसको कुनै परिभाषित तलब र आम्दानी छैन ! तर, वीरगंज बसेर उसैले काठमाडौँमा घर, हेटौँडा र सिमरामा जग्गा अनि वीरगंजमा घर जोड्छ । अनि त्यही युवा जो अहिले अर्धव्यासक भइसक्यो ! उसले अरूको व्यापारमा आँखा लगाएर ठग्न खोज्छ, अनि आफू लेटेस्ट हुन्डाइ आइटेन चढ्छ, सम्पत्ति शुद्धिकरण विभागले किन अनुसन्धान गर्दैन ?’ उद्गारचिन्हसहित प्रश्नचिन्ह रहेको उनको स्ट्याटसका कमेन्टहरु हेरिनँ । हेर्दिनँ । पनि किनभने मेरै स्ट्याटसमा मलाई समवेदना दिनेहरु जिउँदै छन् कि मरे ? मैले तिनको खोजिनीति गरिरहनु छैन । उसै पनि म स्ट्याटस लेख्न भन्दा स्ट्याटस बनाउन लागिरहँदा यसै उनीहरु जिउँदै मरेका छन्, हत्तुहैरान भएर कमेन्ट गरेका छन् । तिनका कमेन्टले केही झर्दैन, अलि अलि कपाल झरेको हो, त्यो उनीहरुको कमेन्टले झरेको हो भनेर विज्ञानले प्रमाणित पनि गरिनसकेकोले चिन्ता गर्नु पर्दैन । यादवले भने झैँ आफू पहाड अझ भित्री मधेशको बागमती प्रदेशका भएकाले ‘चिन्ता’ भनेको तामाङ समुदायमा ‘काजकिरिया’ हो । गर्नु पर्ने चिन्ता होइन, चिन्तन हो । सामाजिक सञ्जालले सत्ता भत्काउँछ तर सत्ता बनाउँदैन । सत्ता बनाउँदो हो त १० लाख बढी फ्यान भएका बाबुराम भट्टराई ३० हजार भोटले जितिने चुनाव किन उठ्न डराउँथे । १० हजार मतदाताले भोट हाले जित्ने ठाउँमा मिलियन फलोअर र फ्यान भएका रवीन्द्र मिश्र किन प्रकाशमान सिंहसँग ४ सय ५० भोटले हार्थे ? भारतीय कवि सम्पत सरलले भनेका छन्, ‘विज्ञानको जतिसुकै तरक्की आओस्, गुगलबाट रोटी डाउनलोड हुँदैन ।’

जब विज्ञानको तरक्की नै यसरी रोकिएको छ भने मान्छे किन धन कमाउने सपनाले अपराधजन्य व्यवहारमा कसुरदार भइरहेको छ ? यसको मक्सद के हो ? हामीले हेरेका छौँ, राजाको जुठोपुरो खाएर गणतन्त्र नेपालमा पनि दलहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मठाधीश बनाएका लोकमानसिंह कार्कीलाई यो देशको गणतन्त्र फापेन । उनी पदमा रहँदै मोसो दलिनेमा परे । देश छाडेर भागे । गुमनाम छन् । सर्वोच्च अदालतका प्रधान न्यायाधीश दामोदर प्रसाद शर्मा साधु बनेर कतै मन्दिरतिर सायद भारततिर छन् । नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्री सुशील कोइरालाको कोठामा निधन भएको विषय सरकारी मुखपत्र गोरखापत्रले मात्रै थाहा पाएर छापेर पठाएको पत्रिका फिर्ता लिँदै अर्को पत्रिका छाप्यो ? उनको मृत्यु किन गुमनाम बनाइयो ? कुरुवा बसेका ‘सुन’सरीका चम्चाहरुले पनि ख्वामित् मरेको थाहा पाएनन् । यो देश यस्तै यस्तै किस्साहरुको राजधानी हो ।

रामबहादुर बम्जनले पनि देशमै विवाह गरेर काठमाडौँमा पैसामा सुतेको भन्दै प्रहरीले सार्वजनिक गरेको छ । धर्म, राजनीति, कर्मचारीतन्त्र, प्रहरी प्रशासन सबैमा सत्तामा पुग्नै लाग्दा खोट देखाउने होड छ । सँगै प्रहरीमा जागिरे हुन्छन्, बढुवा हुन्छन्, जब आफू भन्दा माथिल्लो पदमा पुग्न लागेको पत्ता लाग्छ, अनि कि शैक्षिक प्रमाणपत्र नक्कली बनाइन्छ, कि उमेर ढाँटेको आरोप लगाइन्छ र साथीलाई सिध्याइन्छ । पछि राजनीतिमा जुध्छन् । घिनलाग्दो जागिर र राजनीति यिनैलाई फापेको छ । प्रहरीमा रिटायर्ड भएर अख्तियारमा जागिरे हुन्छन्, पछि अख्तियारकै प्रमुख पनि भ्रष्टाचारी भनेर डामिन्छ । यो देशको सिंगो सिस्टम बिगार्न पछिल्लो १५ वर्षमा कसले बाँकी राखेको छ र ? पत्रकारसँग कमिसन लिनेहरु उच्च ओहोदामा छन् । केही नभए पनि तिनीहरु प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत त पक्का छन् । अनि देशमा सद्दे हुनु पर्ने पत्रकारले मात्रै हो ?

वकिलले बोलेको पैसा लिन हुने, डाक्टरले छामेको पैसा लिन हुने । मास्टरले पढाएको पैसा लिने । मन्दिरमा नबोल्ने भगवानले कपडा, सुनचाँदी, भेटी लिन हुने । तर सँधै जनताका पक्षमा लागिरहने भोको पत्रकारले कसैसँग पैसा लिन नहुने । यो मानक कसले बनायो ? जनताको करोडौँ रकम आफ्नो नाममा नामसारी गर्नेहरु गृहमन्त्री भएका देशमा सत्यतथ्य छानबिन होला र भूषणजी ? शान्तिसुरक्षाका नाममा गुण्डागर्दी भइरहेको छ । को, कहाँ कतिखेर कुन मुद्दामा कोबाट किन फसाइँदैछ भन्ने थाहा हुन छाडेको छ । सबैको सम्पत्ति छानबिन गरौँ । खुलेर भनौँ, देशको मायामा जुटौँ र सुरुवात २०६३ को नागरिकता छानिबनबाट गरौँ, अशली मधेशी, नेपाली, हिमाली सबैले दुईचार दिन दुःख पाउँछन्, फेरि नागरिकता पाउँछन् । नक्कलीवालाहरु पक्कै समस्यामा पर्नेछन् । यति भन्न र लेख्न पनि हामी नसक्ने त्यतिखेरसम्म हुन्छौँ, जबसम्म उनीहरुको रासनपानीमा हुर्किरहनेछौँ । एक गिलास तातो पानी पिएर तपाईं स्वाभिमानले बाँच्नुहोस् त दासजीवन भोग्नै पर्दैन । अहिले खान्कीबान्की सबैका प्रश्नवाचकले घेरिएको छ । सम्पत्ति छानबिन मात्र ‘निज’हरुको गर्नु पर्ने किन ? सबैको गरौँ, म तयार छु, तपाईं तयार हो ? पत्रकारहरुसँग कमिसन माग्नेहरुको देशमा हामीले सुशासनको गोष्ठी भत्ता लिनु पर्ने बाध्यताबाट मुक्त हुन सक्छौँ कहिले ? बाँकी जो आज्ञा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button