
सञ्जय मिश्रा
रौतहट ।
रौतहट स्थित सशस्त्र प्रहरीले एक वर्षको अवधिमा तस्करीको माध्यमबाट भित्र्याइएको दुई करोड ८० लाख रुपैयाँ भन्दा बढीको अबैध सामान बरामद गरेको छ । गत साउन १ गतेदेखि चैत्र मसान्तसम्म भारतबाट विभिन्न नाका हुँदै भित्र्याइएको दुई करोड ८० लाख ४३ हजार ५६४ रुपैयाँ बराबरको अबैध सामान बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले जानकारी दिए । गत चैतको एक महिनाको अवधिमा मात्रै ३६ लाख ४५ हजार ९८४ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको थियो । बरामद सम्पूर्ण सामान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एसपी हुमागाईंले बताए ।
अबैध सामान ओसारपसारमा संलग्न १३ जना, लागू औषध कारोबारमा संलग्न २ जना, हात हतियारसहित पक्राउ परेका ३ जना र वन पैदावर–ओसारपसारमा संलग्न ६ जना गरी जम्मा २४ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको एस्पी हुमागाईले बताए । त्यसैगरी तस्करी लगायत विभिन्न अवैध कारोबारमा बरामद भएको बस– १ वटा, पिकअप÷बलेरो– ३ वटा, अटो– १ वटा, ईलेक्ट्रिक लोडर– १ वटा, मोटरसाईकल– ४२ वटा, ट्याक्टर– १७ वटा, साईकल– ११ वटा, गाढा– २ वटा, सहित विभिन्न किसिमका ७८ वटा सवारी साधन भन्सार कार्यालय, राजश्व कार्यालय, वन कार्यालय, नगरपालिकाको कार्यालय लगायत सम्बन्धित कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।
गत आर्थिक बर्षमा भारतबाट तस्करहरुले भित्र्याएको कूल पाँच लाख ३५ हजार ५८० रुपैयाँ बराबरको १६ क्विन्टल ६१ किलो प्रतिबंधित अबैध कुखुरा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी बल, नेपालको परिचालनबाट गत मंसिर ३ गते यमुनामाई–३ मल्हिनिया टोलमा शेख बैतुल्लाहको कच्ची घरबाट पेस्तोल–३, सोमा प्रयोग हुने म्यागजिन–६ थान, ७.६५ एमएमको १३ राउण्ड–गोली, एयर गण १ नाल गरी जम्मा ४ नाल हतियार बरामद गरेको थियो । त्यस्तै गत चैत २ गते परोहा नगरपालिका ९ घिउरा गाँउमा मनि ट्रान्सफर्मरमा गोली फायर गरी फरार ३ जना भारतीय नागरिकहरुको साथबाट २ थान पेस्तोल र ५ राउण्ड गोली, सहित भारतीय नम्बरको एउता मोटरसाईकल बरामद गरेको थियो । सोही अवधिमा भारतीय समकक्षी एसएसवीसँग मिलेर सशस्त्र प्रहरीले १२५ पटक संयुक्त बोर्डर गस्ती गरेको थियो । प्रादेशिक अस्पताल गौर लगायत जिल्लाको विभिन्न अस्पतालमा उपचारको क्रममा बिरामीलाई रगत अभाव हुँदा सशस्त्र प्रहरीले गत साउनदेखी चैत्र मसान्त सम्म ५१ पटक रक्तदान गरेको छ ।






