श्रीरामको भव्य शोभा यात्रा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
रामनवमी पर्वको अवसरमा वीरगंजमा मर्यादा पुरुषोत्तम श्रीरामको भव्य शोभा यात्रा निकालिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित श्री रामजानकी मन्दिरबाट हजारौँ नरनारी सम्मिलित शोभायात्रा निकालिएको हो । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा निस्किएको शोभायात्राले नगर परिक्रमा गरेको थियो । झाँकीसहित बुधबार बिहान निकालिएको शोभायात्रामा मुस्लिम समुदायको समेत उल्लेख्य सहभागिता थियो । मुस्लिम समुदायका युवाले शोभायात्रामा सहभागीलाई सडकका विभिन्न स्थानमा बसेर चिसो पानी वितरण गरेका थिए । हिन्दू मुस्लिम धर्मावलम्बीको आपसी सद्भाव र भाइचाराको उत्कृष्ट नमूना मर्यादा पुरुषोत्तम श्रीरामको भव्य शोभायात्रामा देखिएको सहभागीहरुले बताए ।

वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजलाई धार्मिक पर्यटकीयस्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले ओझेलमा परेका धार्मिक स्थलको जीर्णोद्धार गरेर महानगरपालिकाले विभिन्न पर्व तथा मेला आयोजना गर्दै आएको र यसबाट एकातर्फ सामाजिक सद्भाव बढाउने काम भइरहेको तथा अर्कातर्फ स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको वीरगंज आगमनमा वृद्धि भइरहेको बताए ।

शोभायात्रापछि मन्दिर परिसरमा धार्मिक परम्पराअनुसार भगवान श्रीरामको पूजा आराधना भएको छ । पूजा आराधनासँगै अपरान्ह ४ बजे रामायण झाँकीको आयोजना भएको थियो भने साँझ ६ बजे महाआरती गरिएको शोभायात्रा मूल समारोह समितिका संयोजक तथा वडा नम्बर १० का अध्यक्ष सुशील कुमार साहले बताए । वीरगंज महानगरपालिकाले झण्डै ७० वर्ष पुरानो रामजानकी मन्दिर अतिक्रमण मुक्त गरी सौन्दर्यकरण गरेर भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनकै दिन २०८० माघ ८ गते भगवान श्रीराम, माता सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठासमेत गरेको थियो ।

श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी रामनवमी मनाइएको छ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । त्रेतायुगमा अयोध्यामा मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको सम्झनामा राममन्दिरमा पूजापाठ गरी यो पर्व मनाइने गरिएको हो । भगवान श्रीरामले रावणलगायतका आसुरी शक्तिमाथि विजय प्राप्त गरेको पुराणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button