मधेश प्रदेश सभामा तोडफोड, जनमतको अवरोध, कांग्रेसको साथ

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
जनमत पार्टीको विरोधपछि प्रदेश सभा बैठक अन्त्य गरेर बसेको मधेश प्रदेश सरकारले मंगलबार मुख्यमन्त्रीका लागि विश्वासका मत लिने कार्यक्रम सहजसँग गर्न सकेन । यद्यपि चौथोपटक विश्वासको मत लिन खोजेका मुख्यमन्त्री सरोजकुमार यादवले कुनै बेला शतप्रतिशत मत पाएका थिए । उनै मुख्यमन्त्री यादवले मंगलबार विश्वासको मत लिन बोलाइएको प्रदेश सभा झण्डै रणसंग्राममा परिणत हुन खोज्यो । सतहमा नेकपा एमालेका प्रदेश सदस्यहरु उभिए पनि यो मुख्यमन्त्री यादवप्रति असन्तुष्टि र आक्रोश थियो । त्यो आक्रोशलाई ‘व्यक्तिगत’ भनेर एमालेका प्रदेश सभा सदस्यहरुले प्रतिवाद गरेपछि प्रतिपक्षीमा मौन रहेको नेपाली कांग्रेस पनि उत्तेजित हुँदै नाराबाजी र रोष्ट्रम घेराउमा पुग्दा मंगलबार राति अबेरसम्म मुख्यमन्त्रीले विश्वासको मत पाउन सकेनन् ।

जनमत पार्टी र नेपाली कांग्रेसको अवरोधका बीचमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतको प्रस्ताव मधेश प्रदेश सभामा प्रस्तुत गरे तर विश्वासको मत पाउने वातावरण बन्न बिलम्व भयो । मधेश प्रदेश सभा बैठक शुरु हुनासाथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दन सिंहले २०८० माघ ८ गते भएको घटनाका सम्बन्धमा यसअघि पनि मुख्यमन्त्री यादवले विश्वासको मत लिँदा छानबिन समिति गठन गरेर छानबिन गर्ने भने पनि त्यस्तो केही नभएको दोहोर्याए । उनले अर्थमन्त्री सञ्जयकुमार यादवमाथि समेत छानबिन समिति गठन हुँदा त्यसको प्रतिवेदन नआएको भन्दै विरोध जनाए । जनमत पार्टीका प्रदेश सभा सदस्यहरुले उठेर विरोध जनाइरहेको अवस्थामा सत्तारुढ नेकपा एमाले संसदीय दलको उपनेता दीपेन्द्र ठाकुरले महेश यादवमाथि भएको घटनामा आफू पनि दुःखी भएको तर ‘व्यक्तिगत कारण’ले संसद अवरुद्ध गर्न नमिल्ने भनेपछि जनमतका सांसदहरु रोष्ट्रम अगाडि पुगेर नाराबाजीमा उत्रिए । स्थिति अरु अशान्त बन्यो ।

जनमत पार्टीका प्रदेश सभा सदस्यहरु र ठाकुरबीच चर्को भनाभन भयो । ठाकुरले आक्रोशित हुँदै आफ्नो पार्टीका प्रदेश सभा सदस्यलाई समेत उठेर प्रतिवाद गर्न भनेपछि प्रदेश सभाको बैठक अरु तनावपूर्ण बनेको थियो । ठाकुरले बोल्न थालेपछि नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले समेत प्रतिवाद गर्दै जनमत पार्टीको अवरोधमा साथ दिएपछि स्थिति अरु अप्रिय बनेको थियो । एमालेका ठाकुरकै कारण प्रदेश सभामा अरु पनि उत्तेजित भएका थिए । जनमत पार्टीका प्रदेश सभा सदस्यहरु समेत रोष्ट्रममा गएर अवरोध गर्न थालेपछि नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पनि रोष्ट्रममा पुगेर अवरोध गरे ।

जनमत र एमालेका सांसदहरु एकअर्काविरुद्ध नाराबाजीमा उत्रिए । सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरे । जनमतको अवरोधमा नेपाली काग्रेसका सदस्यहरुले समेत साथ दिएपछि प्रदेश सभाको दृश्य हेर्न लायकको थियो । १० मिनेटका लागि स्थगित भएको बैठक करिब पाँच घण्टापछि शुरु भयो । प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन प्रस्ताव पेश गर्न अनुमति दिएपछि जनमत पार्टीका सांसदले नाराबाजी गर्दै अवरोध गर्न थाले ।

अवरोधबीच सभामुखले मुख्यमन्त्रीलाई प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएपछि जनमत पार्टीका प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रोष्ट्रममा पुगेर नाराबाजी अरु चर्को पार्न लागे । सभामुख मण्डलले मुख्यमन्त्री यादवले जनमत पार्टीको मागप्रति सकारात्मक रहेको र प्रदेश मामिला समितिमार्फत छानबिन गर्न चाहेको बताएपछि जनमतले संसदीय छानबिन समिति बनाउनुपर्ने माग रहेको बताएर अवरोध कायम गरे ।

सभामुख मण्डलले विरोधबीच प्रस्ताव पेश गर्न अनुमति दिएपछि सांसदहरुले नाराबाजी जारी राखे । उनीहरुले ‘संसदीय छानबिन समिति गठन गर, शक्ति दुरुपयोग गर्न पाउँदैन’ लगायतका नारा लगाउँदै नाराबाजी गरे । मुख्यमन्त्री यादवले प्रस्ताव पेश गर्न लाग्दा सांसदहरुले माइक खोस्न थालेपछि मर्यादापालक र सांसदहरुबीच घम्साघम्सीसमेत भयो । सभामुखका अगाडि रहेको माइकका तारहरु चुँडिए । करिब डेढ महिनापछि बोलाइएको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने रहेकामा २०८० माघ ८ गते सप्तरीमा भएको घटनामा मुख्यमन्त्रीले माफी नमागेसम्म बैठक चल्न नदिने अडान लिएका कारण बैठक अवरुद्ध भएको हो । यसअघि फागुन १५ गते बोलाइएको प्रदेशसभा बैठकमा समेत जनमतका सांसदहरुले अवरोध गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । माघ ८ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठी चार्जबाट मधेश सरकारका तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवको टाउको फुटेको थियो भने केही प्रदेशसभा सदस्यलाई समेत चोट लागेको थियो ।

जनमतका सांसदले मुख्यमन्त्रीको निर्देशनमा आफूहरुमाथि कुटपिट भएको भन्दै सरकार छाडेका थिएभने त्यसयता बैठक अवरुद्ध गर्दै आएका छन् । जनमतले छानबिनको माग गर्दा एमालेका नेताहरुले घटना व्यक्तिगत भनेपछि स्थिति अशान्त बनेको हो । जनमतका सदस्यहरुलाई कांग्रेसका सदस्यहरुले साथ दिएका हुन् ।

चार लाखको तोडफोड
मधेश प्रदेश सभाको विश्वासको मत लिने क्रममा जनमत पार्टीका प्रदेश सभा सदस्यहरुले गरेको तोडफोडबाट करिब चार लाख रुपैयाँको क्षति भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । उनले तेश्रो पटक स्थगित भएको बैठक सुरु हुनासाथ जनमतले फेरि प्रदेश सभा सदस्यले अवरोध गर्न थालेपछि महेश यादवलाई प्रदेश सभाको बैठकबाट निकाल्न सभामुखले आदेश दिएका थिए । उनले सो क्रममा तपाईंहरुको माग समबेधन हुँदासमेत तपाईंहरुले तोडफोड गर्नु भएको छ । त्यो तपाईंहरुबाट नै भराइने छ । करिब चार लाख रुपैयाँको तोडफोड गर्नु भएको भन्ने प्रदेश सभामा सभामुख मण्डलले जानकारी दिए । उनले सिसिटिभी क्यामेरासहित केही सामान तोडफोड गरिएको बताए ।

लोसपा प्रदेश सरकारबाट बाहिरियो
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट फिर्ता भएको छ । पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । संसदीय दलको निर्णयसँगै लोसपाबाट मन्त्री रहेका वन तथा वातावरण मन्त्री रमेश पटेलले पदबाट राजीनामा दिए । उनले दिएको राजीनामा स्वीकृत गरिएको छ । सरकारको ‘पर्फर्मेन्स’ राम्रो नभएकाले आफूहरूले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने अवस्था बनेको र सरकारबाट समेत फिर्ता आउने निर्णय गरिएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए । लोसपाका सांसद उपेन्द्र महतोले प्रदेश सरकारको कामबाट सन्तुष्ट नरहेकाले आफूहरु सरकारबाट बाहिरिएको जानकारी दिए । यता, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले खाली भएको मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवलाई नै दिइन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button