
एकातिर दुई पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो महाधिवेशनमा जुटेका छन् । अर्कातिर दुवै पार्टीको सहभागिताविना केन्द्र गठबन्धन र मधेशसहित प्रदेश सरकार गठबन्धन धरापमा पर्ने पनि पक्का हो । सोमबार सुदूरपश्चिम सरकार गठनमा नेकपा एकीकृत समाजवादीको धार एमाले र माओवादीको धार भन्दा केही फरक भएपछि यसको असर बागमती, मधेश र अन्य प्रदेशमा पनि पर्ने देखिएको छ । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सदस्य नेकपा एसप्रति तिव्र रोष प्रकट गरे । यता काठमाडौँमा उपलब्ध नेकपा एसका सचिवालय सदस्यहरुसँग अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सहमति भन्दा फरक ढंगले नेकपा एमाले र माओवादी, त्यसमा पनि दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रस्तुत भएकाले स्थिति फरक बनेको सुनाए । यसले पनि संकेत गर्छ कि केन्द्र सरकारदेखि प्रदेश सरकारसम्मका गठबन्धन फेरि उथलपुथल निकट छ । प्रदेश सरकार निर्माणमा भइरहेको विलम्बता र त्यसमा माओवादी–एमालेको ढिपीले नेकपा एसलाई अपमान अनुभूत भइरहेको छ । यसको असर भने मधेश प्रदेश सरकारजस्तो बलियो गठबन्धनको आधार भएको जसपालाई पनि पर्ने देखिन्छ । किनभने मधेशमा पनि नेकपा एसको समर्थनबिना जसपाको सरकार बलियो रहने विषय सन्देहमा पर्नेछ ।
यता, माधवकुमार नेपालले पनि सोमबार कडै प्रतिक्रिया दिए । उनले भने, ‘यो सरकार ढाल्न कुनै षड्यन्त्र गर्नु पर्दैैन, इशारा मात्र गरे पनि सरकार ढल्ने अवस्थामा पुगिसकेको छ ।’ उनले बोलेको यो कटुपूर्ण वाकपटु तर्क पनि वाम गठबन्धनका नाममा नेकपा एसलाई भित्तामा पु¥याउन एमाले र माओवादीले गरेको कसरतको जवाफ एकमुष्ट दिने योजना देखिन्छ । यसले तत्काल गठबन्धन भत्कने संकेत गरिसकेको छ । मधेश प्रदेश सरकारमा आज विश्वासको मत लिने दिन भनिएको छ । केन्द्रको गठबन्धन भत्के मधेश प्रदेश सरकारले आज विश्वासको मत पाए पनि फेरि भत्कने संकेत गरेको छ । यसले मधेश प्रदेश सरकार नै फेरबदलको संकेतसँगै अर्को विश्वासको मत लिने अवस्था बनेको देखिएको छ । यसले मधेश सरकार सबैभन्दा अस्थिर देखिने छ । जसपाले मधेश प्रदेश सरकारका लागि गरेको मेहनत जस्तै मधेशी जनताको पक्षमा पनि काम कहिले गर्ला भनेर प्रश्न पनि उठ्ने पक्का छ ।
नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनको हतारो सिर्फ माओवादीका लागि राष्ट्रिय सभाको अध्यक्षका लागि थियो भने कांग्रेससँगको गठबन्धन भत्काउनु नै एमालेको मूलध्येय थियो । यसैले यो गठबन्धन भत्किरहँदा प्रमुख घटक जसपा र नेकपा एसको सहज व्यवस्थापन माओवादी र एमालेको प्राथमिकतामा परेन । राष्ट्रिय सभा उपाध्यक्ष, बझाङ उपनिर्वाचन वा इलामको निर्वाचनमा जसपा र नेकपा एसको भूमिका गौण बनाइयो । यस्तै, राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले मनोनयन गर्ने कोटा पनि एमालेले पक्का ग¥यो । प्रदेशका ३ प्रमुख पनि एमालेले नियुक्त गरिसकेको छ । राष्ट्रिय सभा उपाध्यक्ष पनि पाइसकेको छ । माओवादीलाई राष्ट्रिय सभा अध्यक्ष दिइरहँदा एमालेले लिएको लाभमा जसपा र नेकपा एसलाई साक्षी मात्र बनाइएपछि पक्कै गठबन्धन धरापमा परेको संकेत देखिएको छ ।






