
मधेशदृष्टि
काठमाडौँ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान गरिने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पुनलाई अनुसन्धान गर्नु भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि पत्राचार गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका पुन छुटे वा पुर्पक्षका लागि कारागार चलान हुने आदेश भए पनि सिआइबी पठाइदिन भन्दै पत्राचार भएको हो ।
सिआइबीले चैत २४ गते नै रुपन्देही प्रहरीलाई पत्राचार गर्दै सहकारी ठगी प्रकरण अनुसन्धान सकिएपछि पुनलाई काठमाडौँ पठाउन भनेको छ । यसअघि उच्च अदालतका पूर्वन्यायााधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले समेत पुनमाथि पूर्ण छानबिन भएको नदेखिएको भन्दै उनीमाथि अनुसन्धान गर्नु पर्ने उल्लेख गरेको थियो ।
आयोगले पुनमाथि बयान लिएको थियो । आयोग भन्दा पहिला पनि सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग सम्बन्ध देखिएपछि सिआइबीले पुनलाई बयानमा बोलाएको थियो । तर सिआइबीले कागज गराएर उनलाई छाडेको थियो । सिआइबीका अनुसन्धान अधिकृतका अनुसार बयानका लागि बोलाउँदा पुन आफूले चलाउने गरेको एन्ड्रोइड फोन लुकाएर सामान्य फोन बोकेर गएका थिए ।
सहकारी ठगी प्रकरणमा पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध ६ करोड १ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।






