
मधेशदृष्टि
जनकपुरधाम ।
तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आइतबार जुडशितल पर्व मनाइएको छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।विशेष गरी खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् ।
जुडशितल मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने पर्वमध्ये एउटा पर्व हो । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजनको तरकारी, चनाको पिठोको बेसनबाट बरी पकाएर कढी–बर, काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका प्रमूख परिकार हुन् ।
सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभर अनुकुल वर्षाको कामना गर्दै मैथिलहरु मध्याह्न साथीसङ्गीबीच धूलो माटो र हिलो छ्यापाछ्याप खेल्ने गर्छन् । जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरी कहिल्यै चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । यस पर्वले पर्यावरण संरक्षणको सन्देश प्रवाह गरिरहेको पर्यावकरण अभियानी एवम् मधेश प्रदेश सभाका सदस्य राम अशिष यादवले बताए ।
उनले यस दिन वृक्षमा गएर पानी हाल्ने आफ्नो पानीको स्रोतलाई सफाइ गर्ने जस्ता परम्परा चल्दै आएको छ । जसले पर्यावरण संरक्षणको लागि सन्देश प्रवाह गरिरहेको उनको कथन छ । उनले मानव जीवनमा पर्यावरणको निकै महत्व रहेको र पर्यावण संरक्षण नभएको खण्डमा मानव जीवन नै समाप्त हुने भएकाले यसले पर्यावरण संरक्षणको सन्देश प्रवाह गरेको बताए । जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यान कमी नहोस् भन्ने कामना गरिन्छ ।
धूलो र हिलो माटो छ्यापाछ्याप गर्नु पनि कृषि कार्यमा सधैँ लागि रहन पाइयोस् भन्ने कामना रहेको मिथिला संस्कृति तथा परम्पराका जानकार बताउँछन् । प्राध्यापक डा. भागेन्द्र झाले मिथिलामा प्रचलित अधिकांश पर्वले कुनै न कुनै सन्देश दिने गरेको बताउँदै जुडशितलले प्रकृतिलाई मानवले संरक्षण गर्नु पर्छ भन्ने सन्देश दिएका बताए ।






