भारतको आम निर्वाचन : भाजपाको ‘चेहरा’ मोदी

[mashshare]
अफरोज अर्पण

विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारत आम निर्वाचनको संघारमा छ । अर्को साता आरम्भ भएर छ सातामा सकिने संसदीय निर्वाचन विश्वमा अहिलेसम्म भएको सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास हुने छ । अप्रिल १९ देखि जुन १ सम्म चल्ने चुनाव जितेर तेस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा नरेन्द्र मोदीको छ । विपक्षी दलहरूले उनी सत्तामा रहिरहे भारतीय जनताले स्वतन्त्रता गुमाउने चिन्ता व्यक्त गरेका छन् ।

रेन्द्र मोदी र भाजपाविरुद्ध कुन कुन दल छन् ? 
हालै गरिएका मतसर्वेक्षणहरूले संसद्को तल्लो सदन लोकसभामा मोदीको भारतीय जनता पार्टी (भाजपा) र उसका साझेदारहरूले तेस्रो पटक जित हासिल गर्ने देखाएका छन् । लोकसभाले प्रधानमन्त्री निर्वाचित गर्छ र प्रधानमन्त्रीले सरकारका मन्त्रीहरू चयन गर्छन् । सन् २०१९ को चुनावमा भाजपाले ३०३ सिट जितेको थियो । भाजपाले बनाएको गठबन्धन नेश्नल डेमोक्र्याटिक अलायन्स (एनडीए)मा रहेका दलहरूले कुल ३५२ सीट जितेका थिए । लोकसभामा ५४३ सदस्य हुन्छन् । कुनै दल विशेष वा गठबन्धनलाई बहुमत पु¥याउन २७२ सीट चाहिन्छ । प्रमुख विपक्षी इन्डियन नेश्नल कङ्ग्रेस नेतृत्वको गठबन्धनबाट सन् २०२४ मा प्रमुख चुनौती हुने छ ।

दुई दर्जन पार्टीहरू मिलेर मोदीलाई चुनौती दिन ‘इन्डियन नेश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स’ (इन्डिया) नामक गठबन्धन बनाएका छन् । उक्त गठबन्धनमा रहेका प्रमुख राजनीतिज्ञमा कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गे तथा दिवङ्गत प्रधानमन्त्री राजीव गान्धीका छोरा राहुल र छोरी प्रियङ्का गान्धी छन् । उनीहरूकी आमा सोनिया गान्धी शक्तिशाली विपक्षी नेता हुन् तर उनले सन् २०१९ मा जस्तो सक्रिय रूपमा अभियानमा सहभागी भएकी छैनन् । उक्त गठबन्धनमा दिल्लीको सत्तारूढ आम आदमी पार्टी र कैयौँ महत्त्वपूर्ण क्षेत्रीय दलहरू पनि छन् । आम आदमी पार्टीका तीन नेताहरूलाई हालै भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । सो दलले मोदी र उनको दल भाजपाले प्रतिशोधको भावना राखेको आरोप लगाएको छ । तर भाजपाले त्यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

यो निर्वाचनमा प्रमुख मुद्दा के हुन् ? भारतीय निर्वाचनको महत्त्व कस्तो छ ?
मोदीले बढ्दो अर्थतन्त्र र चीनसँगको द्वन्द्वमा भारतलाई आफ्नो साझेदार बनाउन चाहिरहेको अमेरिकासँगको निकटताका कारण आफ्नो देशको विश्वव्यापी हैसियत बढेको दाबी गर्न सक्छन् । हालै उनले एउटा कल्याणकारी नीति पनि ल्याएका छन् । उक्त नीतिअन्तर्गत भारतका ८० करोड अतिविपन्न मानिसहरूलाई निःशुल्क अन्न र कम आय भएका परिवारका महिलाहरूलाई १,२५० रुपैयाँ भत्ता दिइन्छ । आफ्नो घोषणापत्रमा कङ्ग्रेसले विशेष गरी युवाहरूमा बेरोजगारी उच्च तहमा रहेको जनाएको छ । उसले महिलाहरूलाई कल्याणकारी भुक्तानी बढाउने, ३० लाख थप रोजगारी सिर्जना गर्ने र कलेज छाड्नेहरूलाई तलबी प्रशिक्षण दिने वाचा गरेको छ । उसले भारतलाई ‘निरकुङ्ता’ तिर ढल्किन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । तर अल्पसंख्यक समूहहरूले आफूले पटकपटक विभेद र आक्रमणको सामना गर्नुपरिरहेको र मोदीको शासनकालमा ‘दोस्रो दर्जा’ को नागरिक बन्न बाध्य भएको बताएका छन् । यद्यपि भाजपा त्यो आरोपलाई अस्वीकार गर्छ ।

अन्तर्राष्ट्रिय नागरिक स्वतन्त्रताको पक्षमा पैरवी गर्ने एउटा समूह ‘फ्रीडम हाउस’ले भाजपाको सरकारलाई प्रश्न सोध्ने पत्रकार वा अन्यमाथि ‘दुव्र्यवहार’ को मात्रा बढेको जनाएको छ । उसले भारतलाई ‘आंशिक स्वतन्त्रता’ भएको देशहरूको सूचीमा राखेको छ ।

मतदान कहिले हुन्छ ? निर्वाचन सकिन किन लामो समय लाग्छ?
विभिन्न ठाउँहरूमा सात फरकफरक दिनमा मतदान हुने कार्यक्रम छ ।
एप्रिल १९
एप्रिल २६
मे ७
मे १३
मे २०
मे २५ र
जुन १
सबैतिर मतदान सकिएपछि परिणाम जुन ४ मा घोषणा गरिने छ । मतदान केन्द्रहरूमा प्रभावकारी सुरक्षाव्यवस्था मिलाउन र अधिकारीहरू खटाउ पनि चुनावलाई चरणबद्ध गर्न लागिएको हो । मतदानका लागि दशौँ लाख विद्युतीय उपकरण पनि प्रयोग हुने छन् । त्यसमा मानिसहरूलाई ‘कुनै पनि उम्मेदवारलाई मत दिन्न’ (नोटा)भन्नेमा मत राख्ने पनि व्यवस्था गरिएको छ ।

लोकसभा निर्वाचनमा कसले मत दिन पाउँछन् ?
मतदाता नामावलीमा सूचीकृत १८ वर्ष पुगेका सबै भारतीय नागरिकहरू मत दिन पाउँछन् । उनीहरूसँग मतदाता परिचयपत्र पनि हुनुपर्छ । भारतभन्दा बाहिर रहेका एक करोड ३४ लाख नागरिकले पनि मत खसाल्न सक्छन् । तर त्यसका लागि उनीहरूले नाम दर्ता गराउनुपर्छ र त्यसो गर्न भारत नै फर्किनुपर्छ । भारतमा ९६ करोड ९० लाख मतदाता छन् । लोकसभाका सदस्यहरू पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुन्छन् र प्रत्येक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ । ‘अनुसूचीकृत जाति’ र ‘अनुसूचीकृत आदिवासी’ समुदायका लागि १३१ वटा सीटको आरक्षण छ । ती समूहलाई पछि परेको समुदायका रूपमा मान्यता दिइएको छ र उनीहरूले भारतको जनसंख्याको एकचौथाइ भागको प्रतिनिधित्व गर्छन् । भारतले एकतिहाइ सीट महिलाका लागि छुट्ट्याउने कानुन पनि अनुमोदन गरेको छ । यद्यपि त्यो अझै कार्यान्वयनमा आइसकेको छैन ।

भारतमा मत कसरी सङ्कलन गरिन्छ ? 
भारतको क्षेत्रफल १३ लाख वर्गमाइल छ । निर्वाचनसम्बन्धी नियमले प्रत्येक मतदान केन्द्र मानवबस्ती नजिकै हुने व्यवस्था गरेको छ । सन् २०१९ को निर्वाचनमा गुजरातको गीर राष्ट्रिय निकुञ्जको दुर्गम वनक्षेत्रनजिकै त्यहाँ बसोबास गर्ने एक व्यक्तिका लागि मतदान केन्द्र स्थापना गरिएको थियो । सन् २०२४ को निर्वाचनमा उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशमा एउटी एकल महिलाको मत सङ्कलन गर्न अधिकारीहरूले २४ माइल यात्रा गर्ने भनिएको छ ।

भाजपाका लागि ‘चुनाव युद्ध’
आज भाजपा भारतको सबैभन्दा धनी, सबैभन्दा ठूलो र प्रभावशाली राजनीतिक दल हो । आज यो पार्टी आफैंले सदस्यताका हिसाबले विश्वकै ठूलो राजनीतिक दल भएको दाबी गर्छ । चुनाव युद्ध हो, चुनावी नारा मात्र होइन । यस युद्धका दुई ठूला योद्धा नरेन्द्र मोदी र अमित शाहले पनि यसलाई लागू गर्छन् । प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहको नेतृत्वमा पार्टीले हिन्दुत्वमा मात्र भर नभई उम्मेदवार छनोट गर्दा जात, उप–जाति, सामाजिक संरचना र निर्वाचन क्षेत्रका अन्य सूक्ष्मतालाई ध्यान दिएर रणनीति तयार गर्छ ।

भाजपाको ‘चेहरा’ मोदी
२०१४ को चुनावमा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुले यो अवस्थासम्म पुग्न महत्वपूर्ण भूमिका खेलेको छ । लोकसभा चुनावमा केवल दुई सीटहरू जित्दादेखि बहुमत सीटहरू जित्नेसम्म, बीजेपीले धेरै उतार–चढाव देखेको छ, ठूला झटकाहरू सामना गरेको छ र आफ्नो गौरवपूर्ण यात्रामा निराशा पनि महसुस गरेको छ । यसपालिको निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनको नारा छ ‘अबकी बार ४०० पार’ । यो अंक भाजपा गठबन्धनले पार गर्न सक्छ कि सक्दैन् यो हेर्न जुन ४ सम्म कुर्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button