
मधेशदृष्टि
रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई सातादेखि कर्मचारीले लगाएको ताला शुक्रबार दुई पक्षीय सहमति पछि खुलाएको छ । इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाको प्राङ्गणमा शुक्रबार जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठकमा कार्यवाहक मेयर अम्बेया खातुनले १५ दिनभित्र सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने प्रतिवद्धता जनाएपछि पालिकामा लगाइएको ताला खुलाइएको हो ।
शुक्रबार साँझ कर्मचारी र प्रहरीको रोहवरमा फतुवा विजयपुर नगरपालिकाको ताला खुला गरेको प्रहरीले जनाएको छ । दुई पक्षीय बैठकमा मेयर अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत वकील पाल, ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विजय कार्की, नगर स्वास्थ संयोजक प्रमोद गुप्ता लगायतको सहभागिता रहेको थियो ।
जनप्रतिनिधि बिच आपसी विवादको कारण यस आर्थिक वर्षको साउनदेखि हालसम्म तलब पाउन नसकेको भन्दै कर्मचारीहरुले दुई साता अघि फतुवा विजयपुर नगरपालिकामा तालाबन्दी गरेर साँचो सिडियो हिरालाल रेग्मीलाई बुझाएका थिए । प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको फतुवा विजयपुरबाट सरुवा भएसंगै नया अधिकृत पाल र मेयर खातुन चार दिन अघि नगरपालिकाको साँचो सिडियो रेग्मीको हातबाट बुझेका थिए । फतुवा विजयपुरमा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण सम्पूर्ण आर्थिक कारोवार बन्द भएर यहाँको शिक्षक कर्मचारी गरी ३५० जनाले साउनदेखि हालसम्म तलब पाएका छैनन् ।






