राजस्व छली र तस्करीविरुद्ध सरकार निर्मम बन्छ : गृहमन्त्री

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिँदैै निष्ठापूर्वक काम गर्न सुरक्षा तथा राजस्व सम्बन्धी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा बिहीबार वीरगंजमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उपप्रधान एवम् गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् । भयरहित समाजको निर्माण गरी निर्वाद रुपमा व्यापार व्यवसाय सञ्चालन गर्नका लागि सहयोग गर्न सम्बन्धीत पक्षलाई आग्रह गर्दै उनले राजस्व चुहावट नियन्त्रणका लागि सरकारी संयन्त्रसँगै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको बताए ।

पछिल्लो समय मुलुकको उद्योग व्यवसायको क्षेत्र पनि अति राजनीतिको सिकार भएको उल्लेख गर्दै मन्त्री लामिछानेले राज्यलाई कर तिरेर व्यपार व्यवसाय गर्छु भन्नेहरु समेत त्रसीत बनेर बस्न परिरहेको सुनाए । उद्योगी व्यवसायीहरुका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै उनले भने, ‘यसका अतिरिक्त उद्योगी व्यपारी चर्को ब्याजले अप्ठयोरमा छन् । कर तिर्ने प्रणालीपनि झण्झटीलो छ । यी सब कारणले उद्योगी व्यपारीहरु पेशाबाटै पलायन हुने अवस्थामा पनि पुगेका छन् ।’ उनले बारा, पर्सा, रौतहटलगायतका सीमावर्ती जिल्लाहरुबाट खुला सीमाका कारण हुने गरेको तस्करी नियन्त्रण गर्न सुरक्षा निकाय तथा राजस्वसँग सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिँदै राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गरे ।

गृहमन्त्री लामिछानेले अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकाय तथा राजस्व कर्मचारीलाई निर्देशन दिँदै प्रतिबन्धित समानको आयात, अखाद्य वस्तुको बिक्री वितरण, कालोबजारी नियन्त्रणका लागि जनताले अनुभूति गर्ने गरी काम गर्न आग्रह गरे । ‘बजारमा छयाप्पछयाप्ती अखाद्य वस्तुहरु छन् । किसानले उत्पादन गरेका दूध फालिने अवस्था सृजना भएको छ । आफ्नै उत्पादनले बजार पाइरहेका छैनन् । यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन ।’ उनले थपे, ‘म आफैँले पनि राम्रो काम गर्न सकिन भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न । यो कुरा मलाई मात्रै होइन, सबैलाई लागू हुन्छ ।’

मन्त्री लामिछानेले राजस्व छली र तस्करी जस्ता गैरकानुनी गतिविधि गर्नेविरुद्ध सरकार निर्मम भएर अघि बढ्ने बताए । अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने उद्घोष गर्दै मन्त्री लामिछानेले भने, ‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ । त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ । बिल नबनाउने, गलत बिल बनाउने । एउटा सामान ल्याउँदा अर्काे समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ ।’

साथै उनले सुशासन कायम गरी मुलुकमा बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न नयाँ गठबन्धन बनेको भन्दै गठबन्धन सरकारको मर्म अनुसार नागरिकलाई सुरक्षासँगै अधिकार दिनुपर्ने कुरामा जोड दिए । राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, वीरगंज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, बाराका एसपी महेन्द्र खड्का, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाललगायत वीरगंजका उद्योगी व्यवसायीहरु, बारा, पर्साका राजस्व तथा भन्सारका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button