
मधेशदृष्टि
वीरगंज ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने विभिन्न पर्वहरुले समाजमा सद्भाव कायम गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीहरुले मनाउने महान पर्व ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले पर्वहरुले समुदाय, समाज र मुलुकमा एकता, सद्भाव, भाइचारा, मेलमिलाप, अपनत्वभावलाई प्रोत्साहन गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकोले विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता उनले उल्लेख गरेका छन् । उनले शुभकामना सन्देश दिदै भनेका छन्, ‘ईदले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सबल र सुदृद्ध गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् । लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन यो पर्वले प्रेरित गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।’ खुशी, भाइचारा, सद्भाव, मेलमिलाप, सामूहिकतामा एकता र क्षमाको प्रतीकका रुपमा रहेको ‘ईद–उल–फित्र’ पर्वले सबैलाई एकआपसमा मिलेर बस्न सन्देश मात्रै दिँदैन गरीब र सहयोगको आवश्यकता रहेकाहरुलाई मद्दत गर्न समेत उत्प्रेरित गर्ने गरेको उनको भनाइ छ ।
‘नयाँ–नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासंग गला मिलाउँदै बधाई, शुभकामना र उपहारहरु साटासाट गरी मनाइने ‘ईद–उल–फित्र’ का दिन विशेष परिकारहरु बनाएर खाने र खुवाउने परम्परा छ । ईदको चन्द्रमा हेरेर सबैलाई ‘चाँद मुबारक’ वा ‘ईद मुबारक’ भन्ने चलन छ । साथै मानिसहरु आफ्नो श्रद्धा अनुसार कमाएको रकममध्ये केही हिस्सा दान दिने चलन पनि रही आएको छ’ उनले भनेका छन्, ‘यसले यो पर्वको महत्व झनै बढाएको विश्वास व्यक्त गर्दछु ।’ इस्लाम धर्मावलम्बीहरुले सूर्योदयदेखि सूर्य अस्ताएसम्म लगातार एक महिनाका दिनमा निर्जल उपवास÷व्रत पूरा भएको भोलिपल्ट यो पर्व धुमधामका साथ मनाउँदछन् । रमजानलाई अल्लाहको रहमत महिनाको रुपमा पनि चिनिन्छ । रमजान पवित्र महिनामा मुस्लिम समुदायले आत्म–संयमको पालना गर्दै रोजा (उपवास) बस्ने र अल्लाहको इबादत गर्ने परम्परा छ ।






