
मधेशदृष्टि
बारा ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले ढुवानी विमाका नाममा व्यवसायीको ८० करोड रुपैयाँ हिनामिना गरेको भन्दै व्यवसायीले राष्ट्रिय विमा कम्पनी, अम्लेखगञ्जमा तालाबन्दी गरेको छ । आयल निगम अम्लेखगञ्ज डिपोअन्तर्गत विमा कार्यालयमा ढुवानी व्यवसायी र सरोकारवालाले गरेको तालाबन्दी पछि प्रहरीले तोडेको थियो ।
एसोसिएसनले २०६८ देखि ढुवानी विमाबापत रकम उठाएको र यो रकममा करिब ८० करोड रुपैयाँ हिनामिना भएको बताइएको छ । व्यवसायीसँग वार्षिक १३ करोड रुपैयाँ उठाइए पनि विमा कम्पनीमा भने वार्षिक ३ करोड रुपैयाँ मात्र जम्मा भइरहेको पाइएको हो । एसोसिएसनले हालसम्म ८० करोड २७ लाख ९४ हजार ३० रुपैयाँ हिनामिना गरेको, मूल्य अभिवृद्धि कर र अन्य करसमेत अपचलन गरेको भन्दै तत्काल छानबिन माग गर्दै एसोसिएसनको शाखा कार्यालय अमलेखगन्जमा तालाबन्दी गरिएको थियो ।
आर्थिक हिनामिना आरोपमा नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनविरुद्ध पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल विमा प्राधिकरण, राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सङ्घीय संसद् लेखा समितिमा पनि उजुरी परेको छ । एसोसिएसनविरुद्ध परेको उजुरीमा तत्काल छानबिन माग गर्दै अमलेखगञ्ज डिपोअन्तर्गतका ढुवानी व्यवसायीले आन्दोलन सुरु गरेका हुन् ।
‘एउटा गाडीले प्रत्येक वर्ष विमाबापत १० देखि १५ लाख रुपैयाँ बुझाउँछ, तर टं्याकीमा आगजनी भयो भने तेल पोखियो भने मात्रै केही राहत पाइन्छ,’ ढुवानी व्यवसायी रिकेस नगरकोटीले भने, ‘एसोसिएसनले व्यवसायीको करोडौँ रुपैयाँ उठाएर भ्रष्टाचार गरेको छ ।’ ढुवानी व्यवसायीको समस्यामा एसोसिएसनले कुनै सुनवाइ नगरेको उनीहरूको गुनासो छ । यस्तै, नेपाल पेट्रोलियम डिलर्स एसोसियसन र ढुवानी व्यवसायी महासंघका पदाधिकारी एउटै व्यक्ति हुँदा बदमासी गरेर आफन्तका ट्यांकरसमेत रिप्लेस गरिएको व्यवसायीको आरोप छ ।
आयल निगमबाट लोड भएर निस्किएको ट्यांकर दुर्घटना तथा आगलागी नहोस् भन्न अनिवार्य विमाको व्यवस्था गरिएपछि एसोसियसनका नेताहरुले करोडौँ अनियमितता र अपचलन गरेका हुन् । आयल निगम अम्लेखगञ्ज डिपोअन्तर्गतको राष्ट्रिय विमा कम्पनीका प्रमुख विनय अधिकारीले ६ महिना अघिदेखि अनलाइन प्रकियाबाट भ्याट रसिद काट्न सुरु भएको र पुरानो कारोबारबारे जानकारी नभएको बताए । अम्लेखगञ्जस्थित राष्ट्रिय विमा कम्पनिमा करिब ४ सय पेट्रोल पम्प आबद्ध छन् । विमा प्राधिकरणले प्रतिलिटर पेट्रोल, डिजेलमा ६ पैसाका दरले रसिद काट्ने गर्दछ ।






