स्वदेशी उद्योग संरक्षण नीति बनाउन उद्योगीको माग

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंजका उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षको नीति तथा योजनामा आर्थिक मन्दीका कारण चपेटामा परेका उद्योग–व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्ने गरी बनाउन माग गरेका छन् । उनीहरुले नीति तथा योजना र आगामी आर्थिक वर्षको बजेटमा उद्योग व्यवसाय संरक्षण र प्रवद्र्धन हुनसक्ने गरी आउनु पर्ने बताए ।

अर्थ मन्त्रालय र वीरगंज उद्योग वाणिज्य सङ्घले गरेको राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रियामा सहभागी उद्योगी–व्यवसायीले मुलुकको आर्थिक सङ्कटले उद्योगधन्दा धरासायी हुने अवस्थामा पुगेकाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन अनुरोध गरे । सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सरकारको कर नीति उद्योगमैत्री नहुँदा उद्योगी व्यवसायी मर्कामा परेको बताए । ‘सरकार फेरिएपिच्छे करका नीति फेरिँदा उद्योगी व्यवसायी मर्कामा परेका छन्,’ उनले भने, ‘सरकारले उधारो कानुनको अवधारणा तत्कालै ल्याउन जरुरी भइसकेको छ ।’

सङ्घका पूर्वअध्यक्ष तथा वीरगंज महानगरका पूर्वनगरप्रमुख विजयकुमार सरावगीले सरकारले निश्चित वस्तुमा आयात प्रतिबन्ध लगाउँदा अवैध तरिकाले चोरी तस्करी मौलाइरहेको बताए । ‘कुनै वस्तु वा उपकरणमा अस्वाभाविक रुपमा कर वृद्धि गरिदिने हो भने चोरी तस्करी मौलाउने गर्छ,’ उनले भने, ‘सरकारले कुनै वस्तुको राजस्व दररेट परिवर्तन गर्दा पर्याप्त अध्ययन अनुसन्धान गरेर मात्रै गर्दा उपयुक्त हुने देखिन्छ ।’

सङ्घका मधेश प्रदेश अध्यक्ष अशोककुमार टेमानीले सरकारले हरेक जिल्लामा औद्योगिक क्षेत्र निर्माण गरेर औद्योगिक वातावरण तयार पार्नुपर्ने बताए । ‘जसरी जापानले उत्पादन हुने सबै वस्तु तथा उपकरणमा ‘मेड इन जापान’ (जापानमा बनेको) भनेर प्रचारप्रसार गरेको छ । हामीले पनि त्यसैको सिको गरेर स्वदेशमा उत्पादन हुने सबै खाद्य सामग्रीलाई ‘अर्गानिक नेपाल’ भनेर ‘ब्रान्डिङ’ गर्न जरुरी भइसकेको छ,’ उनले भने, ‘स्वदेशी उद्योगलाई विभिन्न सहुलित तथा अनुदान दिएर भए पनि स्थानीय उत्पादन वृद्धि गर्न ढिला गर्नुहुँदैन ।’ प्रदेश अध्यक्ष टेमानीले वीरगंज सुक्खा बन्दरगाहसँगै जोडिएको ६६ बिघा जग्गा तत्कालै अधिग्रहण गरेर राख्नुपर्ने सुझाव दिए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले राज्यले करको दर कुनै उद्योग वा व्यक्तिलाई फाइदा पुग्ने गरी निर्धारण गर्न नहुने सुझाव दिए । ‘राज्य कुनै व्यक्ति वा उद्योगको सीमित स्वार्थमा लाग्नुहुँदैन,’ उनले भने, ‘समग्र क्षेत्रको विकास गर्ने उद्देश्यले अघि बढेमात्रै मुलुकले आर्थिक उन्नति हासिल गर्न सक्छ ।’

संविधानसभाका सदस्य तथा सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले सङ्घीय राजधानीसँग वीरगंज जोड्ने छोटो दूरीको सडक लामो समयदेखि निर्माण सम्पन्न नहुँँदा वस्तु तथा सेवाको ढुवानीमा निकै समस्या देखिँदै आइरहेको बताए । ‘सरकारले ठूला आयोजना निर्माण सुरु गर्ने मात्रै होइन । सम्पन्न गराउनेतर्फ पनि अग्रसर हुनुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘काठमाडौँ तराई–मधेश जोड्ने द्रुतमार्ग जति सक्दो छिटो सम्पन्न गराउनेतर्फ ध्यान दिन जरुरी छ ।’

वीरगंजका उद्योगी व्यवसायीले विगत चार वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको केराउ, मरिच, छोकडालगायत वस्तुमाथिको प्रतिबन्ध खुलाउन माग गरे । अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले उद्योगी व्यवसायीले दिएको सुझाव सकेसम्म आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे । ‘उद्योगी–व्यवसायी र सरकार एउटै डुङ्गामा सवार भएर मात्रै मुलुकको अहिलेको समस्या समाधान गर्न सकिन्छ,’ उनले भने, ‘उद्योग व्यवसाय फस्टाउन नसके मुलुकको विकास सम्भव छैन । त्यसैले सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’ सरकारले उद्योगधन्दालाई सहजीकरण गरेर अघि बढ्ने नीति अवलम्बन गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button